भक्तपुरमा उपनिर्वाचन: साना दल र स्वतन्त्रको जमानत जफत

Posted on: December 02, 2019 | views: 69 रासस

भक्तपुर, मंसिर १६ ।  भक्तपुर क्षेत्र नं १ (क) मा सम्पन्न प्रदेशसभा सदस्य पदको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारले १० भोेट पनि नघाउन सकेनन् । नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच मुख्य प्रतिस्पर्धा देखिए पनि साना दललाई ५०० र स्वतन्त्र उम्मेदवारलाई १० भोट ल्याउन मुश्किल प¥यो । 

काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले १३ हजार ४४९ मत पाएर विजयी भइरहँदा नेकपाका उम्मेदवार डिपी ढकालले ११ हजार २०६ मै चित्त बुझाउनुप¥यो । नेपाल मजदूर किसान पार्टीका उम्मेदवार नीरज लवजूलाई २०७४ सालको प्रदेशसभा सदस्यमा आफैले पाएको मत जोगाउन गाह्रो भयो । उनी गत निर्वाचनभन्दा दुई हजार मत कम अर्थात पाँच हजार ८२९ मत मै खुम्चिए । 

आफ्ना लालकिल्ला भत्किँदै गएको पत्तो नपाएको नेमकिपालाई आफ्नो मत सुरक्षित गर्न समस्या प¥यो भने कमल थापा नेतृत्वको राप्रपाले यसपटक निकै कम मतमा चित्त बुझाउनुप¥यो ।  उपनिर्वाचनमा कूल ३२ हजार ३७ मत खस्दा राप्रपाका उम्मेदवार श्यामप्रसाद नेपालको भागमा भने जम्मा ५७४ मत मात्रै प¥यो । त्यस्तै साझा पार्टीले ५०० मत पनि नघाउन सकेन । साझा पार्टीका उम्मेदवार सुरज प्रधानले ३९३ मत पाए भने अन्य दलले १०० मत पनि पु¥याउन सकेनन, स्वतन्त्रले १० पनि कटाउन सकेनन् । 


Share your thoughts!