मुक्का प्रहारबाट मृत्यु

Posted on: October 05, 2019 | views: 50 रासस

भोजपुर, असोज १८ । कुटपिटका कारण छिमेकीको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय भोजपुरले भोजपुर नगरपालिका १० भैसीपंखा जीमीगाउँबाट स्थानीयवासी ४२ वर्षीय शंखराज भनिने श्रीकृष्ण राईलाई आज पक्राउ गरेको छ । 

छिमेकी  बाथका बिरामी ६३ वर्षीय बलबहादुर राईको उनको कुटाइका कारण ज्यान गएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आफ्नै घरको सिकुवामा आराम गर्दै बसेका  बलबहादुरलाई विनाकारण मादक पदार्थ सेवन गरी श्रीकृष्णले कुटपिट गरेर घाइते बनाएको बताइएको छ  । 

आर्थिक अवस्थासमेत कमजोर रहेका बलबहादुरलाई  कुटपिट गर्ने श्रीकृष्णले एक बोतल रक्सी किनेर एकापसमा मिलापत्र गरेको तर बलबहादुरको शुक्रबार घरमै मृत्यु भएको थाहा भएको छ  । श्रीकृष्णले अनुहारको भागसंँगै बायाँ आँखाको डिलमा  मुक्का प्रहार गरेको प्रहरीले जनाएको छ । घटनापछि घरमै झारफुक गराएको तर घटनाको विषयमा तत्काल कुनै पनि निकायमा उजुरी नदिइएको प्रहरीको भनाइ छ ।

बलबहादुरमाथि बुधबार कुटपिट भएको प्रहरीले जनाएको छ ।  श्रीकृष्णलाई शुक्रबार पक्राउ गरेपछि प्रहरीले घटनाको विषयमा आज मात्र जानकारी दिएको हो । 


Share your thoughts!