छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

Posted on: September 30, 2019 | views: 60 सुशासन संवाददाता

काठमाडौं, असोज १३ । छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । मोरङ, बाँके र नवलपरासी(पूर्व)का विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको हो ।

मोरङ, सुन्दरहरैचा नगरपालिका-६ स्थित सडकमा को.१ ख ६२७३ नम्बरको टिपरको ठक्करबाट गम्भीर घाइते भएका सोही ठाउँ बस्ने मिलन थपलियाको छोरा ९ वर्षीय लुकाश थपलियाको आइतबार दिउँसो घट्नास्थलमै मृत्यु भएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके, खजुरा गाउँपालिका-३ स्थित सडकमा प्रदेश ३-०२-००१ प ११८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार खजुरा गाउँपालिका-४ बस्ने २४ वर्षीय कमल थापाको नर्सिंङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी(पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-२ स्थित सडकमा लु.५ प २२४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही गाउँपालिका बस्ने २८ वर्षीय पर्शुराम सोमई मगरको जिल्ला अस्पताल डण्डा मध्यबिन्दुमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share your thoughts!