आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Posted on: September 08, 2019 | views: 38 सुशासन संवाददाता

काठमाडौं, भदौ २२ । मोरङ, सर्लाही, झापा र कपिलवस्तुमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब १७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

मोरङ, बुढिगंगा गाउँपालिका-२ बस्ने उपेन्द्र गुप्ताको घरमा विद्युतको तार सर्ट भई आइतबार बिहान आगलागी हुँदा नजिकैको अर्को घर समेत जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सर्लाही, मलंगवा नगरपालिका-७ मुसैली बस्ने बिश्वास राय राम दुलारको घरमा करेन्ट सर्ट भई आइतबार बिहान आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । झापा, शिवसताक्षी नगरपालिका-२ बस्ने बुद्धि कुमार बस्नेतको घरमा शनिबार बेलुका आगलागी हुँदा नजिकैको ३ वटा गोठ र परालको कुन्यु समेत जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

कपिलवस्तु, कृष्णनगर नगरपालिका-९ बिजयनगर बस्ने गोल्ले यादवको गोठमा लामखुट्टे धपाउन बालेको आगोबाट आइतबार बिहान आगलागी भई आगो बस्तीमा फैलिँदा उनी समेत ४ जनाको ४ वटा गोठ र २ वटा घर पूर्णरूपमा जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

आगलागी भएका स्थानहरूमा तत्काल खटिएको स्थानीय प्रहरीले स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

Share your thoughts!