छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

Posted on: September 08, 2019 | views: 25 सुशासन संवाददाता

काठमाडौं, भदौ २२ । छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । दाङ, धनुषा र महोत्तरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको हो ।

दाङ, तुलसीपुर उपमहानगरपालिका-६ गलौरास्थित सडकमा रा.१ त २६३१ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा सर्केनी बिकको १३ वर्षीय छोरा अनिल सुनारको मृत्यु भएको छ । सर्केनीको घरमा उक्त ट्याक्टर ठोक्किएर गारो फोडी ठक्कर दिंदा गम्भीर घाइते भएका अनिलको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषा, जनकपुर उपमहानगरपालिका-१९ थुमौनास्थित सडकमा ज.१२ प ७९९७ नम्बरको मोटरसाइकलकले शनिबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका साईकलयात्री सोही स्थान बस्ने ४५ वर्षीय नवल यादवको अञ्चल अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार मिथिला विहारी नगरपालिका-३ का २५ वर्षीय चन्दन साह र ३५ वर्षीय बिजय साहलाई थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर पठाइएको छ ।

महोत्तरी, बर्दिवास नगरपालिका-३ स्थित सडकमा बा.२१ च ४४४१ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई शनिबार बेलुका दुर्घटना हुँदा गम्भीर घाइते भएकी एम्बुलेन्समा सवार बर्दिवास नगरपालिका-३ बस्ने ५० वर्षीया तारा वादीको शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका पैदलयात्री धनुषा मिथिला विहारी नगरपालिका-४ बस्ने २१ वर्षीय रोशन बराईली सहित अन्य ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Share your thoughts!