छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

Posted on: September 07, 2019 | views: 38 सुशासन संवाददाता

काठमाडौं, भदौ २१ । छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । मकवानपुर र ईलामका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको हो ।

मकवानपुर, भिमफेदी गाउँपालिका-६ चिसापानीस्थित सडकमा हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज ३६४० नम्बरको सुमो सडकबाट अन्दाजी ५० मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा सुमोमा सवार ३ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेहरुमा रामेछाप रजनगाउँ बस्ने सबिता माझीकी छोरी १० महिनाकी संम्रागी माझी, महोत्तरी माईस्थान बस्ने ७० वर्षीय वीरसिंह वाईवा र सर्लाही बरथवा नगरपालिका-३ बस्ने ६० वर्षीय महेन्द्र सहनी रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनाको चुरेहिल अस्पतालमा उपचाको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका चालक समेत ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ईलाम, रोङ गाउँपालिका-१ हिलेपाखास्थित सडकमा मे.१ ख २२५६ नम्बरको ट्रक सडकबाट अन्दाजी ६० मिटर तल खसेर शुक्रबार साँझ दुर्घटना हुँदा चालक झापा बुद्धशान्ति गाउँपालिका-५ बस्ने ४० वर्षीय ध्रुव कार्की र ट्रकमा सवार ३० वर्षीय रबिन नेपालको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्रकमा सवार २ जनालाई उपचारको लागि झापातर्फ लगिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Share your thoughts!