एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

Posted on: August 10, 2019 | views: 48 सुशासन संवाददाता

काठमाडौं, साउन २५ । धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १२ स्थित क्याम्पस चोकबाट शनिबार एपीएफ टोलीले करीब १ लाख ६४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

दुई वटा मोटरसाइकलमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले उक्त सामान बरामद गरेको हो । सामान ल्याउने व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथै उक्त लत्ताकपडा र मोटरसाइकल सोही ठाउँमा छडी फरार भएपछि लत्ताकपडासहित मोटरसाइकल समेत बरामद गरिएको हो ।

बरामद लत्ताकपडा तथा मोटरसाइकल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर २६ गण हेक्वा पश्चिम नवलपरासीबाट खटिएको एपीएफ टोलीले साउन २५ गते करीब १ लाख ८२ हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान पश्चिम नवलपरासी जिल्लाको रामग्राम नगरपालिका ७ उजैनी चोकबाट बरामद गरिएको हो ।

बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

Share your thoughts!