कारागारमा अभावै अभाव

Posted on: March 30, 2019 | views: 142 रासस

कञ्चनपुर, चैत १६ । तीन दशक पहिले जिल्ला कारागारमा गरिएको विद्युत् वाइरिङ् जीर्ण बन्दै गएपछि दुर्घटना निम्तीने खतरा बढेको छ । जीर्ण बन्दै गएको विद्युत् वाइरिङका कारण दुर्घटना हुनसक्ने आशङ्कामा कैदीबन्दी निकै चिन्तित भएका छन् । जुनसुकै बेला पनि विद्युत् वाइरिङ शर्ट हुनसक्ने भएकाले सावधानिपूर्वक बस्नु परेको कैदीबन्दी बताउँछन् । 

“विद्युत् वाइरिङ निकै पुरानो र केही विद्युत्का तार नाङ्गोसमेत भएकाले निकै जोखिम छ”, कारागारका प्रमुख श्यामराज भट्टले भने, “पर्खाल बाहिरको क्षेत्रमा गतवर्ष विद्युत् वाइरिङ भएको छ, भित्रपट्टी हुन नसक्दा जोखिम बढ्दो छ, कुन बेला विद्युत् सर्ट भई आगलागी हुन्छ ठेगान छैन ।” विद्युत् वाइरिङगका लागि कारागार शाखासँग बजेट नहुँदा मर्मत हुन नसकेको उनको भनाइ छ । “केन्द्रमा पटक-पटकलेखी पठाए पनि बजेट आउदैन, कसरी मर्मत गर्ने चिन्ताको विषय बनेको छ” उनले भने । 

पानी पर्दा छाता ओढनुपर्ने 

कारागारमा कैदीबन्दीका लागि बस्न बनाइएका भवन निकै पुराना हुँदा वर्षातमा छाता ओढेर सुत्नुपर्ने अवस्था रहेको छ । “छतबाट टप्पटप्प पानी चुहिन्छ, छाता नओढेर के गर्ने ?”, कैदी भीम भट्टले भने, “पानी पर्न थालेपछि अनिदोमै रात काटनुपर्ने हुन्छ ।” कारागार प्रमुखलाई मर्मतका लागि गुहार्दै आए पनि मर्मत हुनसकेको छैन । बजेट अभावलेनै कारागार सुरक्षाका लागि सेन्ट्रि बस्ने उत्तर पूर्व तर्फको जीर्ण बुर्जासमेत मर्मत हुनसकेको छैन । 

शौचालय र पानीका लागि लाइन बस्नुपर्ने 

शौचालय र खानेपानीको प्रर्याप्त व्यवस्था नहुँदा कैदीबन्दीले पालो पर्खनुपर्ने अवस्था रहेको छ । खानेपानी र शौचालयको भरपर्दो व्यवस्था नहुँदा पालो पखर्नुपरेको हो । नुहाउन नपाउँदा धेरैजना कैदीबन्दीले चर्मरोगको शिकार हुनुपरेको छ । कारागारभित्र गाडीएको हेण्ड पम्पमा आर्सेनिकयुक्त पानी आउने भएकाले पिउनलायक नहुँदा निकै समस्या रहेको छ । 

त्रिपाल टाँगेर सुत्दै कैदीबन्दी 

क्षमता भन्दा कारागारमा कैदीबन्दीको सङ्ख्या बढी भएपछि सुत्नका लागि निकै समस्या छ । कोठामा ठाउँ नभएपछि केहीलाई ग्यालरी र केहीलाई त्रिपाल टाँगेर कारागारभित्रको खुला ठाउँमा सुत्ने व्यवस्था गरिएको कारागार प्रमुख भट्टले बताए । नयाँ भवन निर्माणका लागि लागत स्टिमेट तयार गरेर कारागार विभागमा पठाए पनि अझै भवन बन्ने टुङ्गो नभएको उनले बताए । 

कारागारमा २५ महिला र ७० पुरुष कैदीबन्दी राख्ने व्यवस्था भए पनि कारागारमा क्षमता भन्दा बढी २८३ कैदीबन्दी रहेका छन् । सोमध्ये पुरुष कैदीबन्दीको सङ्ख्या २६६ र महिला कैदीबन्दीको सङ्ख्या १७ रहेको छ । कारागार विदेशी कैदी बन्दीको सङ्ख्या १८ रहेको छ । 

उपचारका लागि बजेट अभाव 

कारागारमा रहेका कैदीबन्दीका लागि कारागार विभागबाट रु एक करोड ९ लाख बजेट विनियोजन भई आएकामा अधिकांश हिस्सा कैदीबन्दीको खाना खर्च र लुगामै खर्च हुने गरेको छ । सोही रकमबाट औषधि खरीदका लागि रु दुई लाख बजेट छुट्ट्याइएकामा अपुग भएको छ । 

शाखाका प्रमुख भट्टले कैदीबन्दीको औषधि उपचारकै लागि थप रु १५ लाखदेखि २० लाख बजेट आवश्यक पर्ने बताए । “थोरै रकम आउछ”, उनले भने, “लुगा र सिदामै अधिकांश खर्च हुन्छ, बचेको रकम औषधिउपचारका लागि खर्च गर्दै आएका छौं ।” गत वर्षको औषधि उपचारको उधारो रु नौ लाख रकम यस वर्षको बजेटबाट तिरेको उनले बताए । 

तालीम अभाव 

कारागारका कैदीबन्दीका लागि बजेट अभावमै प्रर्याप्त आयआर्जन हुने सीपमूलक तालीम प्रदान गर्न सकिएको छैन । गतवर्ष भीमदत्त नगरपालिकाले बेतबाँसको तालीम दिएको थियो । यसवर्ष कारागारले आफ्नै रु एक लाख ५० हजार बजेटबाट सिलाइकटाइ तालीम आयोजना गरेको छ । केही कैदीबन्दीले तालीमबाट सीप सिकेर आफनै खर्चमा काम गर्न थालेका छन् । तालीमका लागि र भौतिक पूर्वाधार मर्मत तथा निर्माणका लागि यहाँका नौ वटै स्थानीय तहले बजेटको व्यवस्था गरिदिन कारागार प्रमुखले आग्रह गरेका छन् । 

तन्दुरुस्त राख्न आवश्यकपर्ने खेलकूदका सामग्रीको समेत अभाव रहेको कैदीबन्दीले बताएका छन् । भलिबल, जिम र लुडो खेल्न थोरै सामग्री भए पनि अन्य खेलका सामग्री कारागारमा छैनन् । पुरानो जिल्ला सदरमुका बेलौरीबाट विसं २०२३ मा कारागारलाई भीमदत्त नगरमा स्थानान्तरण गरिएको थियो । स्थानान्तरण गरिएको लामो समयपछि विसं २०३२ देखि कारागार सञ्चालनमा आएको हो । त्यसै बेला बनाइएका भौतिक संरचनामा कैदीबन्दीलाई राख्ने गरिएको छ । 

Share your thoughts!