जीपको ठक्करबाट दुईको मृत्यु

Posted on: March 30, 2019 | views: 84 रासस

राँझा, चैत १६ । बाँकेको कोहलपुर नगरपालिका–३ मदनचोकस्थित पूर्व–पश्चिम राजमार्गमा स्कारपियो जीपको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । 

दुर्घटनामा बर्दियाको ठाकुरद्वारा नगरपालिका–८ निवासी ३२ वर्षीया उषा चौधरी र बाँके बैजनाथ गाउँपालिका–१ चिसापानी निवासी ३० वर्षीय लोकबहादुर शाहीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर विसीले जानकारी दिए । 

उनका अनुसार, मृतक दुवै स्कुटी चालक हुन् । गएराति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मदनचोक नजिकै चौधरी र शाहीले चलाएको भे ५ प १४२० र भे ८ प २१६५ नं को स्कुटी एकआपसमा जुधेको बेला तीव्र गतिमा आएको बा १५ च २०९६ नं को स्कारपियोले दुवैजनालाई ठक्कँर दिएको थियो । 

दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनाको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक विसीले जानकारी दिए । चालक रोशन वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

Share your thoughts!