किङ्स कलेजले दोस्रो उत्सव गर्दै

Posted on: February 27, 2017 | views: 352

काठमाडौं, फागुन १६ । किङ्स कलेजले मङ्गलवार र बुधवार राजधानीमा दोस्रो उत्सव गर्ने भएको छ । कार्यक्रममा शिक्षा, उद्यमशीलता र मनोरञ्जनमूलक कार्यक्रमहरू हुने र स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरूको सहभागिता रहने कार्यक्रम संयोजक कमला लामाले बताइन् ।

त्यस्तै, सृजना, प्रतिस्पर्धा र मनोरञ्जन विषयमा केन्द्रित भई उत्सव आयोजना हुने र उत्सवमा विभिन्न १७ ओटा कलेजको सहभागिता रहने लामाले जानकारी दिइन् । कलेजले ‘हाम्रो उत्सव’ नामको कार्यक्रम आयोजना गर्न लागेको हो । यसअघि ‘किङ्स उत्सव’ नाममा कलेजले दुई वर्षअघि कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रमको यो दोस्रो संस्करण हो ।

कार्यक्रममा अन्य कलेजहरूको पनि सहभागिता हुने भएकाले सबैले अपनत्व बोध गर्न सकून् भनेर नाम परिवर्तन गरी हाम्रो उत्सव राखेको कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्यालले भने ।

यसपटक विज्ञान, कला, मानविकी, व्यवस्थापन, फेशनलगायतका प्रस्तुतिमा ५ सयभन्दा बढी विद्यार्थीले भाग लिनेछन् । जसमा स्टक मार्केट च्यालेञ्ज, सोसल मिडिया मार्केटिङ, व्यावसायिक योजना लेखाइ, हाजिरीजवाफ र मानव संसाधन प्रतिस्पर्धा जस्ता प्रतियोगिताहरू हुनेछन् ।

यसबाहेक म्याड एड्स, शर्ट मुभी, थिमेटिक फोटोग्राफी, ब्याटल अफ ब्याण्डस्, जंक आर्टस्, कलेज आइकन, नृत्य, इभेण्ट प्लानिङ, उद्यमशीलता प्रदर्शनी, चित्रकला जस्ता प्रतिस्पर्धाहरू पनि राखिने आयोजकले बताएको छ । प्रतियोगिताका विजेता कलेजले रू. १ लाख पुरस्कार प्राप्त गर्नेछन् । उत्सवको टाइटल स्पोन्सर आईएमएस ग्रुप तथा को–स्पोन्सर सीआरएस कम्पनी रहेका छन् ।

Share your thoughts!