किन अशान्त छ इरान ?

Posted on: January 04, 2018 | views: 600 बीबीसी

पछिल्लो समय देखिएको आर्थिक कठिनाइ तथा राजनीतिक समस्याको कारण इरान अशान्त देखिएको छ । उल्लेख्यमात्रामा मानिसहरु सडकमा निस्किएर प्रदर्शन गरिरहेका छन् । यो प्रदर्शन इरानका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको बताइएको छ । हाल जारी आन्दोलनमा धेरै मानिसहरुले केही समयअघि भएको राष्ट्रपतिको निर्वाचन दोहो¥याउन माग गरेका छन् । 

कसरी बन्यो इरान अशान्त ? 

गत बिहीबार इरानको दोस्रो सहरको रुपमा रहेको मासादमा केही मानिसहरुले आफ्नो प्रदर्शन सुरु गरेका थिए । इरानमा आधारभूत सामग्रीहरुको मूल्य अत्यधिक विन्दुमा रहेको भन्दै उनीहरुले प्रदर्शन सुरु गरेका थिए । त्यसयता यो आन्दोलन मुलुकका विभिन्न ५० सहरमा फैलिसकेको छ । यसको मारमा तेहरान पनि परेको छ । यो आन्दोलनमा हजारौं मानिसहरुले भाग लिइरहेका छन् । 

इरानको उक्त आन्दोलन हिंसात्मक बन्दै गएको पाइएको छ । स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार अहिलेसम्म कम्तीमा २१ जना मानिसहरुको ज्यान गइसकेको छ । सुरक्षाबलसँगको झडपको क्रममा उनीहरुको ज्यान गएको हो । साथै सयौं मानिसहरु पक्राउ परेका छन् । 

आन्दोलनकारी के चाहन्छन् ? 

अहिलेको आन्दोलन विशेषगरी इरानका राष्ट्रपति हसन रोउहानीको आर्थिक नीति फेल भएको कारण सुरु भएको हो । सुधारको लागि संघर्ष गरिरहेको मुलुकको अर्थतन्त्रमा अहिले अत्यधिक बेरोजगारी र मुद्रास्फीतिदरका साथै व्याप्त भ्रष्टाचारको विषयलाई प्रमुख मुद्दा बनाई आन्दोलन सुरु गरिएको हो । मुलुकले पछिल्लो समय मध्यपूर्वभन्दा बाहिर गएर लगानी गरिरहेको विषयलाई एक महत्वपूर्ण कारण बनाइएको छ । आन्दोलनकारीहरुले आफ्नै मुलुकमा विभिन्न किसिमको समस्या देखिएको अवस्थामा बाहिरी मुलुकमा लगानी गर्नु उचित निर्णय नरहेको बताएका हुन् । 

आन्दोलन यतिसम्म हुँदा खासै केही भएको थिएन तर आन्दोलनले राजनीतिक रुप लिन पुग्यो । त्यसपछि अत्यधिक मात्रमा सरकारको विरोधमा प्रदर्शन जारी रहेको छ । अहिलेको आन्दोलनमा होमिएका केहीले सन् १९७९ मा सकिएको जहाँनिया शासन ल्याउनको लागि माग गरेका छन् । 

इरानको प्रतिक्रिया कस्तो छ ? 

इरानी सुरक्षा बलले सुरुको आन्दोलनमा मानिसहरुलाई रोक्ने प्रयास गरेको थियो । साथै प्रहरीले आफ्नो भूमिका निर्वाह गर्ने प्रयास गरेको जस्तो देखिन्थ्यो तर जब आन्दोलनकारीहरु बढे, त्यसपछि अवस्था अनियन्त्रित बन्न पुग्यो । इरानी राष्ट्रपति रोउहानीले सन् २०१५ मा विश्वका प्रमुख शक्ति मुलुकहरुसँग न्युक्लियर हतियारहरुको विषयमा वार्ता गरेका थिए । जसको कारण इरानमाथिको नाकाबन्दी हटाइएको थियो । आइतबार उनले इरानीयनहरुलाई आफ्नो मुलुकको विरोध गर्ने र आन्दोलन गर्ने अधिकार रहेको प्रतिक्रिया दिएका थिए । 

यद्यपि रोउहानीले यदि आन्दोलनकारीहरुले सार्वजनिक सम्पत्ति बिगार्ने, हिंसा भड्काउने र समाजमा अशान्ति फैलाउने काम गरेमा भने प्रहरीले कुनै सहनशीलता नदेखाउने बताएका थिए । रोउहानीले अहिलेको समस्या समाधानका लागि केही समय दिएर सरकारलाई सहयोगको लागि आग्रह पनि गरेका थिए तर उनको यो प्रयास सफल हुन भने सकेन । राजनीतिक पार्टीहरुले भने बाह्य मुलुकहरुको आडमा यो आन्दोलन चर्काएको भन्दै एक अर्कालाई आरोप÷प्रत्यारोप लगाइरहेका छन् । 

मंगलबार केही नेताहरुले इरानका शत्रुहरु अहिले इरानलाई थप अशान्त बनाउनको लागि पैसा तथा शक्तिको प्रयोग गरिरहेको बताएका थिए । इरानको प्रशासनले अहिलेको अवस्थालाई मध्यनजर राख्दै सामाजिक सञ्जाल र म्यासेजिङ एप टेलिग्रामलाई रोक लगाउने निर्णय गरेको छ । उक्त सामाजिक सञ्जालहरु इरानमा लोकप्रिय छन् । इरानको सरकारले आन्दोलनका गतिविधिहरु बढाउनका लागि सहयोग पु¥याउने भन्दै उक्त सामाजिक सञ्जालहरुमा रोक लगाउने निर्णय गरेको हो । 

को हुन् आन्दोलनकारीहरु ? 

अहिले इरानमा भइरहेको आन्दोलनको आवाज सुन्ने हो भने विभिन्न समूहहरुले यो आन्दोलनमा भाग लिइरहेको देखिन्छ । यद्यपि यसमा राष्ट्रिय नेताहरुको भने सहभागिता छैन । अहिलेसम्मको अवधिमा आन्दोलनमा गरिब, बेरोजगार तथा बाँच्नका लागि संघर्ष गरिरहेका मानिसहरुको सहभागिता देखिन्छ । पछिल्लो एक दशकको अवधिमा इरानियनहरु १५ प्रतिशत गरिब बन्दै गएको एक विवरणले देखाएको छ । साथै उनीहरुको पाउरोटी, दूध र रातो मासुको खपतमा पनि ३० देखि ५० प्रतिशतसम्मको गिरावट आएको पाइएको छ । 

अहिले इरानको आधिकारिक बेरोजगारीको नतिजा १२ दशमलव ४ प्रतिशत रहेको छ तर मुलुकको कुनै भागमा यो नतिजा ६० प्रतिशतभन्दा पनि बढी रहेको छ । मुलुकका ३० वर्षभन्दा मुनिका आधाभन्दा बढी जनसंख्या निकै खराब बन्न पुगेको देखिएको छ । गएको मे महिनामा इरानको राष्ट्रपतिको रुपमा पुनः निर्वाचित भएका रोउहानीले मुलुकको अर्थतन्त्रमा उल्लेख्य सुधार गर्ने वाचा गरेका थिए । यद्यपि अहिलेसम्म पनि इरानको अर्थतन्त्रमा आशा गरिएअनुसारको सुधार हुन भने सकेको छैन । 

सन् २००९ को आन्दोलनको तुलनामा यो के फरक छ ? 

अहिलेको आन्दोलन इरानको लागि निकै गम्भीर र विस्तार हुँदै गएको देखिएको छ । यसअघि इरानको विवादित पुनः निर्वाचनको कारण आन्दोलन चर्किएको थियो । त्यतिबेला पनि इरानमा व्यपक अशान्ति देखिएको थियो । यद्यपि त्यतिबेलाको आन्दोलन इरानको राजधानी सहर तेहरानलाई केन्द्रित गरी ल्याइएको थियो तर अहिलेको आन्दोलन भने मुलुकभर फैलिएको छ । 

अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया कस्तो छ ? 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा आन्दोलन सुरु भएयता नै सामाजिक सञ्जाल ट्वीटरको प्रयोग गरी आन्दोलनकारीलाई सहयोग गरिरहेका छन् । गएको सोमबार अमेरिकी राष्ट्रपतिले इरानियनहरु खाना र स्वतन्त्रताको भोको रहेको प्रतिक्रिया दिएका थिए । साथै उनले इरानमा परिवर्तन आवश्यक रहेको पनि बताएका थिए । युरोपियन युनियन (ईयू)ले पनि यो अवस्थालाई नियालिरहेको र इरानियनहरुको शान्तिपूर्ण कोणसभा गर्न पाउने र स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार पनि रहेको बताएको छ । 

Share your thoughts!