पार्टीभित्र नै आलोचना खेप्दै प्रधानमन्त्री ओली

Posted on: December 09, 2018 | views: 210 सुशासन संवाददाता

काठमाडौं, मंसिर २३ । बुद्धिजीवीको तर्कको तहका विषयमा कुरा गर्दै आफू बहसमा उत्रिए थला पर्ने चेतावनी दिएका नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली दलभित्र हिस्स र सामाजिक सञ्जालमा फिस्स बनिसकेका छन् । उनलाई आफ्नै सहयात्री पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले दलभित्र तथा नेपाली कांग्रेस र नागरिक अगुवाले बाहिर घेराबन्दिमा पारेका छन् । उनको राष्ट्रिय छविको धज्जी उडाउन थालिएको छ । 

पछिल्लो पटक एसिया प्यासिफिक सम्मेलनमा उनको उपस्थिति, पुरस्कार ग्रहण र क्रिश्चियन धर्मान्तरको कार्यक्रमलाई सहयोग गर्ने रणनीतिक निर्णय गराएर पार्टीमा र आलोचना गरेर दुनियाँभर बद्नाम हुन थालेको छ । अझ, जनतासँग प्रधानमन्त्री कार्यक्रममा उनले आफ्नो र कार्यक्रमको बचाऊ गर्दै दिएको अभिव्यक्तिले असर गरेको छ । एक हिसाबले ओलीको बोली ‘ब्याक फायर’ जस्तै भयो ।

सामाजिक सञ्जालमा रहेका लेखक, पत्रकारलगायतले ओलीको ‘थला’ पर्ने शव्दलाई व्यंग्यात्मक टिप्पणी गरेका थिए । प्रतिपक्षी दलले त त्यसको आलोचना नै गरेको छ । ओलीले शालीन पारामा उत्तर नदिएको र बौद्धिक जमातसँग ‘शाब्दिक युद्ध’ सुरु गरेको कतिपयले बताएका छन् । 

‘प्रधानमन्त्रीले कहाँ कसरी प्रतिवाद गर्ने र के बोल्ने भन्ने विषयमा हेक्का राख्नुपर्छ । सरकारले आलोचनालाई चिर्नका लागि काम गरेर देखाउनुपर्छ’, एक टिप्पणीकार भन्छन्, ‘धर्मान्तरको विषयमा सरकारको बलियो उपस्थिति हुने, सहयोग गर्ने अनि उल्टै बौद्धिक जमातलाई गाली गर्नु कति उचित हुन्छ ?’

ओलीको आलोचना भइरहँदा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले प्रतिरक्षा वा बचाऊ भने गरेका छैनन् । न यो विषयमा नेकपाको सचिवालय बैठकमा उनीहरूले केही बोलेका छन् । बरु, उक्त बैठकमा नेता भीम रावल र घनश्याम भुसालले सरकारको आलोचना गरे । अन्य भने ओलीका अगाडि बोल्न पनि सक्तैनन् । ‘सरकारले गर्नुपर्ने काम नगरी नगर्नुपर्ने बाटोमा हिँड्ने जमर्को गरेको छ’, भुसाल भन्छन्, ‘यो पाराले कम्युनिस्टको बद्नाम मात्र हुन्छ ।’

यसरी गरिँदै छ घेराबन्दी 

सम्मेलनको विवाद पार्टीभित्र बाट योजनाबद्ध ढंगले उठाउन लगाइयो । स्वभाविक रूपमा कम्युनिस्ट सरकार र पार्टीका पनि प्रमुख भएका नाताले ओलीको निर्णयमा टिप्पणी नहुनुपर्ने थियो । तर, प्रचण्ड गुट र माधव गुटका नेताले ओलीको हुर्मत नै लिनेगरी सम्मेलन चलिरहेका बेला मिडिया तताए । यस्तो विवाद प्रचण्ड र नेपाल गुटका नेताले मात्र उठाएका छन् ।

माधव गुटका रावल, भुसाललगायतले गरे । प्रचण्ड गुटका नारायणकाजी श्रेष्ठले सम्मेलन विवादित हुने विषयमा पहिले नै परिचर्चा गरिएको खुलाए । प्रचण्डको स्वीकृतिका आधारमा नै एसिया प्यासिफिक समिट भएको बताए । ६ महिनाअघि नै नेकपाको बैठकमा यो सम्मेलन विवादमा आउने विषय नारायणकाजीले उठाएका थिए । 

ओलीविरुद्ध प्रचण्ड–नेपाल मोर्चा यस प्रकरणमा पनि सक्रिय देखियो । यसरी मौनता बसेरै ओलीविरुद्धको मोर्चाबन्दीमा उनीहरू सक्रिय हुनुको पछाडी पार्टीमा नेतृत्व परिवर्तन र सरकार हस्तान्तरणको हतारो रहेको पनि स्रोतले बताएको छ । प्रचण्डले नेपाललाई पार्टी प्रमुख अथवा प्रधानमन्त्री मध्य एक बनाउने वाचा गरेका छन् । जुन, वामदेव गौतमलाई पनि गरेका थिए । तर उपनिर्वाचनको विषय उचालेर थेचारिसकेका कारण गौतम अहिले मौन छन् । 

प्रचण्ड यस सम्मेलनमा नबोल्नुको अर्को कारण भारतीय संस्थापनको विश्वास आफूमाथि केन्द्रित बनाउनु पनि हो । भारतको निर्वाचन सकिनासाथ नेपालमा सत्ता परिवर्तनको खेलमा उसको रणनीति केन्द्रित हुने भएपछि प्रचण्ड आगामी प्रधानमन्त्री र पार्टी अध्यक्षको हैसियतलाई हातमा लिन चाहन्छन् । यसकारण उनी सम्मेलनमा उपस्थित पनि भएनन् । औपचारिक सत्रमा केही बेरचाहीँ देखिएका थिए । 

यसअघि भारतीय प्रशासनको दबाबमा नै प्रचण्डले ओलीको ९ महिने कार्यकालका बेला सरकारको समर्थन फिर्ता लिएर आफैं प्रधानमन्त्री बनेका थिए । त्यसपछि भारतसँग उनको सम्बन्ध अझ नजिकिएको दाबी गरिँदै आएको छ ।

प्रचण्ड राजनीतिमा बीचको लाइन समाचार उक्लिने स्कुलिङमा खप्पिस छन् । तत्कालीन माओवादीको नेतृत्व ३० वर्षसम्म गरे । मोहन वैद्य किरण र डा. बाबुराम भट्टराईका दुई लाइन संघर्षलाई भिडाएर नेतृत्व हातमा लिइराखे । कहिले वैद्य बा त कहिले बाबुरामतिर ढल्किएर उनले माओवादीको नेतृत्व गरेका थिए । अहिले नेकपामा ओली र नेपाल दुई चलायमान गुटको नेतृत्वमा उनी रमेका छन् । यसैकारण पनि नेपाल गुटका असन्तुष्ट रहेका २६ सांसद र केन्द्रीय सदस्यलाई खुमलटारमा बोलाएर थामथाम थुमथुम पारेर पठाएका छन् । ती २६ ले आफूहरु स्वतन्त्र भएको बताउँदै आए पनि नेपाल समूहका हुन् । जसलाई ओलीले धुम्बाराहीमा समय नै दिएका थिएनन् । न, बालुवाटारमा । यसकारण उक्त समूहले यसअघि महासचिव विष्णु पौडेललाई ज्ञापन बुझाएका थिए । 

Share your thoughts!