गुण्डानाइकेको प्रभावमा आईजीपी हटाउन विद्यार्थी नेताको चलखेल !

Posted on: October 05, 2018 | views: 522 सुशासन संवाददाता

काठमाडौं, असोज १९ । गुण्डागर्दी तथा विभिन्न आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुको प्रभावमा परी सत्तारुढ दलका भातृसंगठनका विद्यार्थी नेताहरुले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाललाई हटाउन चलखेल सुरु गरेका छन् । तत्कालीन एमाले निकट अखिलकी अध्यक्ष नवीना लामा र तत्कालीन नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङले बिहीबार गृहमन्त्री रामबहादुर थापालाई गृह मन्त्रालयमा भेटी आईजीपी खनाललाई हटाउन दबाबस्वरुप ज्ञापनपत्र बुझाएका हुन् । 

ज्ञापनपत्रमा ‘जनताको जिउधनको सुरक्षामा सिंगो संरचनालाई प्रभावकारी बनाउन असक्षम प्रहरी प्रमुखलाई तत्काल बर्खास्त गरियोस्,’ उल्लेख गरिएको छ । स्रोतका अनुसार नियोजित रुपमा आईजीपी खनाललाई हटाउन विद्यार्थी नेताहरुले चलखेल सुरु गरेका हुन् । 

सांसदसमेत रहेकी लामा र तामाङको उक्त कदमको विद्यार्थी संगठनभित्रै आलोचना सुरु भएको छ । संगठनमा छलफल नै नगरी दुई जनाले ज्ञापनपत्र बुझाएको भनेर विरोध भएको हो । अखिल क्रान्तिकारीका उपाध्यक्ष दीपेश पुनले भने, ‘दुवै विद्यार्थी संगठनको आधिकारिक छलफल, बैठक र निर्णयविना केही साथीहरु प्रतिपक्षभन्दा पनि बढी प्रतिपक्ष भएर हल्काफुल्का रुपमा त्यो पनि सरकारविरुद्ध चौतर्फी घेराबन्दी भइरहेका बेला नेपाल सरकारको मेरुदण्ड नेपाल प्रहरी संगठन प्रमुखको राजीनामा मागपत्र बुझाउने कुरा ‘काम कुरा एकातिर, कुम्लो बोकी ठिमीतिर’ हो । यो दुई÷चार दिनको सस्तो लोकप्रियता र बजार विज्ञापनबाहेक केही होइन ।’

त्यस्तै, अखिलका महासचिव ऐन महरले पनि संगठनको कुनै पनि निकाय र तहमा छलफल नभई अध्यक्षले एकल स्वार्थका आधारमा आईजीपी हटाउनुपर्छ भन्दै गृहमन्त्रीकहाँ पुगेको र त्यो संगठनको निर्णय नभएको स्पष्ट पारेका छन् । 

यसअघि, काभ्रे तथा काठमाडौंमा गुण्डागर्दीमा संलग्नताको आरोमा सत्यमान लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गर्दा सांसद नवीना लामाले आफ्नो रोहबरमा छुटाएकी थिइन् । त्यसपछि पनि महानगरीय अपराध महाशाखाको टोलीले लामालाई पक्राउ गर्दा नवीनाले  आईजीपी खनाललाई फोन गरेर छोडिदिन आग्रह गरेकी थिइन् । तर महाशाखाले नै सत्यमानलाई जिल्ला अदालतबाट अनुसन्धानका लागि समय लिएपछि उनी आईजीपी खनालसँग क्रुद्ध भएकी थिइन् । सत्यमान १७ दिनको प्रहरी हिरासतपछि जिल्ला अदालतको आदेशमा धरौटीमा छुटेका थिए ।


Share your thoughts!