बुढा नहल्लिँदा वामदेव जिल्लाराम !

Posted on: September 16, 2018 | views: 234 सुशासन संवाददाता

काठमाडौं, भदौ ३१ । कहीँ नभएको जात्रा नेकपामा अर्थात् नेपाल कम्युनिस्ट पार्टीमा । एमाले र माओवादी जोडिएर थामिनसक्नु नेता र कार्यकर्ता भएको पार्टीका प्रदेशदेखि स्थानीय कमिटीहरूको मेलमिलाप नै सकस भइरहेका बेला चुनावमा पराजित नेता वामदेव गौतमलाई प्रतिनिधि सभा छिराउने चर्चा खरानीको डोरी बाटेजस्तो हुन थालेको छ । 

कतिपय ठाउँमा आफू जसरी पनि प्रतिनिधि सभा आउने बताएका बामदेवका लागि ठाउँ खाली गर्न कोही तयार नहुँदा उनलाई अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले जिल्लाराम बनाउने निश्चित भएको छ । ‘सांसदलाई सहमतिमा नै छाड्न लगाएर चुनाव गराउने हो, छाड्दिनँ भन्यो भने उसलाई दबाब दिन सकिन्छ र ? लामो समयसम्म पार्टीमा योगदान गरी चुनावमा उठेर त्यहाँका जनताले पत्याएको मान्छेलाई राजीनामा गराएर आफ्नै क्षेत्रका जनताले नपत्याएकोलाई कसले ठाउँ दिने ?’, नेकपाका एक नेताले भने, ‘यस्तो हल्लाले अहिले कुन चाहिँ सांसदले जागिर छाड्नुपर्ने हो भन्ने एकातिरको सकस छ, अर्कातिर गौतम आफैं पनि नटवरलालजस्तो बनिरहेका छन् ।’

गौतमले केही समय अघि एउटा रेडियोमा अध्यक्षद्वयको चाहनाअनुसार प्रतिनिधि सभामा आउने रहर रहेको बताएका थिए । त्यतिमात्र होइन त्यसको तयारी नै भइसकेको पनि भनेका थिए । दशैंलगत्तै प्रतिनिधि सभामा आउने उनको योजनाअनुसार डोल्पामा प्रहरी प्रमुख बनाएर उनका पहिलेका बडिगार्ड अवधेश विस्टलाई समेत पठाइएको चर्चा भयो । तर, डोल्पालीले गौमतलाई अस्वीकार गरेपछि कसको के लाग्छ र !

गौतमलाई डोल्पाबाट जिताउन सहज हुन्छ भन्ने लागेपछि त्यहाँका सांसद धनबहादुर बुढालाई राजीनामा गराउने तयारी थियो । तर, बुढा अब नहल्लिने भएका छन् । जनताले नै उनलाई नछाड्नका लागि दबाब दिएपछि नेताका लागि जे पनि गर्न तयार छु भन्ने बुढा अहिले जनताका लागि जे पनि गर्न तयार छु भन्न थालेका छन् । कतिपयले उनलाई पर्यटन राज्यमन्त्री बनाउनुको शर्त पनि वामदेवका लागि ठाउँ खाली गरिदिने शर्त नै रहेको बताइएको थियो । उच्च स्रोतले भन्यो, ‘त्यस्तो उधारो शर्तमा राजनीति हुँदैन, बुढाले ७७ प्रतिशत मत ल्याएर मन पनि जितेका हुन् । वामदेवलाई कुर्सीको बाटो देखाउनका लागि चुनाव लडेका थिएनन् ।’

गौतमको चाहना डोल्पामा मात्रै रोकिँदैन । भैंसेपाटीमा बस्ने उनका बारेमा अनेकन हल्ला चलाउन थालियो । र, ललितपुर पनि सारियो । नेकपाले ललितपुर–१ मा प्रतिनिधि सभा सदस्य नवराज सिलवाललाई राजीनामा गर्न लगाउने भन्ने अर्को हल्ला आयो । यसलाई सिलवालले सिधै ‘उडन्ते’ गफ भनिदिए । यस्ता वाहियात कुराको पछि नलाग्न उनको सुझाव नै थियो । त्यसपछि वामदेवका लागि विकल्पद्वार पूर्वी रुकुमतिर सारियो । त्यहाँबाट निर्वाचित सांसद कमला रोक्काले निराधार हल्लामात्र भएको टिप्पणी गरिन् । उनले वामदेव गौतमलाई त्यहाँबाट चुनाव लडाउने कुनै सल्लाह वा कुुराकानी समेत पार्टीमा नभएको रोक्काको दाबी आएको छ । 

०७० सालको संविधानसभाको निर्वाचनमा बर्दिया र प्युठानबाट चुनाव जितेका उनले प्युठान छाडिदिएपछि त्यहाँका जनता रिसाएका थिए । त्यसैकारण पनि वामदेवको स्वार्थका लागि मात्र जनताले मत नदिने बताइसकेका छन् । उनको विकल्पका रूपमा नै दुर्गा पौडेललाई जनताले रोजेका थिए । प्युठानका सांसद पौडेललाई त्यसविषयमा कुनै जानकारी नहुनु गौतमका लागि ठाउँ खाली गर्न कोही पनि तयार नभएको प्रस्ट देखिन्छ ।

पछिल्लो पटक भने नेकपा महासचिव विष्णु पौडेलको दबाबमा बाँके–३ का सांसद नन्दलाल रोकायालाई राजीनामा गराउने तयारी रहेको बताइएको छ । तर, जसले बर्दियामा नै आफूलाई उभ्याउन सकेन उसका लागि बाँके उपयुक्त जिल्ला हुन नसक्ने भन्दै रोकायाले पनि छाड्ने मनसाय बनाएका छैनन् । 

त्यसो त वामदेवलाई संसद्मा ल्याउनका लागि ओलीभन्दा पनि बढी जोड प्रचण्डले गरेका थिए । यस्ता अनेक विकल्पका विषयमा वामदेव प्रचण्डको ‘स्कुलिङ’का आधारमा नै चुनाव लड्ने मनसायमा पुगेका हुन् । अझ एकतापछि पार्टीमा उनको भूमिका नै गौण हुन थालेपछि सक्रिय र कार्यकारी पदसम्मको लालसामा वामदेव पुगेका छन् । 

जीवनमा एक पटक प्रधानमन्त्री बनेर राजनीतिबाट संन्यास लिने चाहना राखेका वामदेवलाई यस्ता उडन्ते सल्लाह र सुझावको उक्साहट दिनेहरूले राजनीतिक छवि नै बिगार्दिने प्रयास गरेको कतिपयले आरोप लगाएका छन् । पार्टीको विधान र नियमावलीमा राजनीति गर्ने, चुनाव लड्ने समयसीमा राखेको खण्डमा वामदेव सबैभन्दा अगाडि नै निवृत्त हुने व्यक्ति हुन् । उनी नेकपाको कार्यकारी कमिटीमा सबैभन्दा जेठा पनि हुन् । 

Share your thoughts!