के प्रचण्ड ‘प्रो इन्डियन’ हुन् ?

Posted on: September 10, 2018 | views: 146 सुशासन संवाददाता

काठमाडौं । अमेरिकी आँखाबाट नेपाली माओवादीलाई विश्लेषण गर्ने भारतमा यसपटक पुष्पकमल दाहाल प्रचण्ड नयाँ परिचय लिएर नयाँ दिल्ली पुगे । यसअघिका विभिन्न पटकका भ्रमणमा प्रचण्ड नेकपा माओवादी, एकीकृत नेकपा माओवादी, नेकपा माओवादी केन्द्रको अध्यक्ष र प्रधानमन्त्रीका हैसियतमा नयाँ दिल्लीमा पुग्ने गरेका थिए । 

अमेरिकी आँखाबाट नै विश्लेषण गरेका कारणले ‘प्रोटोकल्ली’ उनलाई होच्याएर स्वागत गरिन्थ्यो । पहिलो पटक प्रधानमन्त्री भएर राजकीय भ्रमणमा जाँदा उनको स्वागतका लागि एकजना राज्यमन्त्री पठाइएको थियो जबकी उनीअघिका प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला जाँदा तत्कालीन प्रधानमन्त्री डा. मनमोहन सिंहले प्रोटोकल नै तोडेका थिए ।

हुन त प्रधानमन्त्री केपी शर्मा ओलीको निम्तोमा बिम्स्टेक सम्मेलनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका राजनीतिक तहका कुराकानीका कारण प्रचण्डको दिल्ली यात्रालाई अर्थहिन मानिएको छ । तर, केही राजनीतिक र सुरक्षाका विषयमा उनी भारतीय संस्थापनका महत्वपूर्ण व्यक्तिसँगको भेटमा सक्रिय भए । उनले मोदीका सुरक्षा सल्लाहकार तथा भारतीय सरकारको रणनीतिक अभ्यासका प्रमुख मानिने अजित डोभाल, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराज गुप्तचर संस्थाका प्रमुख र प्रधानमन्त्री मोदीसँग पनि संवाद गरे । यसलाई अर्थसंगत टिप्पणीका आधारमा प्रचण्डको ‘भारतझुकाव’ पनि भनिएको छ ।  

नाकाबन्दीका बेला भारतविरुद्ध ओलीको कडा प्रतिवाद र प्रस्तुतीमा प्रचण्ड गठबन्धन सरकारमा थियो । भारतीय संस्थापनकै दबाबमा उनले ओलीमाथि अविश्वासको प्रस्ताव दर्ता गराए र आफैं प्रधानमन्त्रीमा निर्वाचित भए । नेपालमा राष्ट्रवादको नारा उग्र भइरहेका बेला उनलाई ‘भारतपरस्त’को आरोप लगाइएको थियो । ‘दाउरामा बाँचीरहेको सहरले नझुक्ने कसम खाँदा प्रचण्डले आफुसँग रहेको सांसद संख्याको दुरुपयोग गरी ओलीलाई हटाएकै थिए त्यसबेला उनी भारतको दबाबमा परेकै हुन्’, नेकपाका एक केन्द्रीय नेताले भने,‘अहिले परिस्थिति बदलिएको छ । केही असमझदारीलाई टुंगो लगाउन उनी दिल्ली पुगेको हुनुपर्छ ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको गठजोडमा उनले ओलीविरुद्धको अभियान नै चलाएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गुप्तचर काम हेर्ने इन्टेलिजेन्स व्युरोले उनलाई ओलीसँगको गठबन्धन भत्काउन प्रस्ताव नै गरेको थियो । 

यसपटक माओवादी विसर्जन गरी कम्युनिस्ट पार्टीको एउटा अध्यक्षको हैसियतले प्रचण्डको भारत भ्रमणमा केही प्रश्न उठेका छन् । उनलाई भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसीसका पूर्वप्रमुख तथा जनरल अशोक मेहताले नै गम्भिर प्रश्न गरे,‘के तपाई प्रो इन्डियन र ओली प्रो चाइनिज हुन् ?’ यसकार सन्तुलित उत्तर दिन प्रचण्ड सक्षम भए । तर, यो प्रश्न भारतीय जनरलबाट नै सोधिनुले प्रचण्डको भुमिकालाई राजनीतिक वृत्तमा गम्भीर बनाएको छ । भारतीय राजनीतिको प्रभावबाट मुक्त हुन नसकेको नेपाली राजनीति र यिनका नेताले नयाँ दिल्लीमा झेल्नुपर्ने प्रस्ता प्रश्नले उनको भूमिकालाई प्रष्ट बनाउने गरेको छ । 

पूर्वमाओवादीका एक नेताले भने, ‘यो स्वाभाविक प्रश्न हो । भारतले भनेका कारणले नै प्रचण्डले जनयुद्धको विसर्जन गराए, दिल्लीमा नै १२ बुँदे सम्झौता गराए । पछि हतियार पनि त्यहीँ बेचेका छन् । उनी प्रो इन्डियन नै हुन् ।’

नयाँ दिल्लीमा भने उनले नेपालको नेतृत्वको बचाउ गरेका छन् । प्रधानमन्त्री ओलीलाई आजभोलि फेरि प्रो इन्डियनको आरोप लाग्न थालेको प्रतिप्रश्नात्मक उत्तर दिँदै नेपाली नेतृत्व सन्तुलित सम्बन्धका लागि उभिएको बताए । भारतीय प्रधानमन्त्री मोदी र ओलीबीचको सम्बन्ध बलियो हुन थालेपछि यस्ता अभियोग लाग्न थालेको उल्लेख गर्दै थपे, ‘२५ वर्षभन्दा बढी समयदेखि ओलीमाथि प्रो इन्डियन र ३–४ वर्षयता फेरि प्रो चाइनिज भएको आरोप लगाउन थालिएको छ ।’

प्रचण्डको यो भ्रमणलाई देशका लागि मात्र नभएर उनको व्यक्तिगत मुल्यांकनका निम्ति पनि भएको बताइन्छ । भारत र चीनबाहे पश्चिमा मुलुकमा राजकीय अथवा कूटनीतिक हिसाबले प्रवेश गर्न नपाएका उनी भारतमार्फत अमेरिकी संस्थापनसँग राम्रो सम्बन्ध बनाउने ध्याउन्नमा छन् । उनी अस्ट्रेलिया, युरोपलगायतमा पनि ब्यालेटको राजनीतिमा उत्रिएको प्रस्ट्याउनका निम्ति एकीकरणपछि विदेश दौडाहामा निस्किएका हुन् ।


Share your thoughts!