वैरोका डिजीको नाम बेच्दै पैसा उठाउँदै प्रितम

Posted on: September 09, 2018 | views: 328 सुशासन संवाददाता

काठमाडौं । बेथिति र रोजगारीमा ठगीका कैयौं उजुरी पर्छ, वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेकामाथि । यसलाई नियन्त्रण र नियमन गर्नका लागि श्रममन्त्री गोकर्ण विष्टले विभिन्न तह र तप्कामा कडा निर्देशनसहित कर्मचारी खटाएका छन् । 

वैदेशिक रोजगारीका सबै कामकारबाही र व्यावसायी, म्यानपावर कम्पनीसँग प्रत्यक्ष ठोक्किने सरकारी निकाय हो, वैदेशिक रोजगार विभाग । विष्टले विभागमा कडाइका साथ काम गर्नका लागि महानिर्देशकमा दिलीप चापागाईं र श्रम कार्यालयमा भविश्वर पाण्डे खटाए । उनीहरूले विष्टको मिशनअनुसार नै काम गरिरहेका छन् । 

तर, विभागसँग समन्वय गर्ने वैदेशिक रोजगार व्यावसायी संघका एकजना नेताले महानिर्देशककै नाममा एउटा म्यानपावर कम्पनीको निरीक्षणमार्फत साढे तीन लाख घुस रकम माग गरेका छन् । उक्त रकम डिजी चापागाईंलाई बुझाउनुपर्ने संवादसहितको अडियो सुशासनसँग सुरक्षित छ । 

एक म्यानपावर कम्पनीविरुद्ध विभागमा परेको उजुरीपछि उसको कामकारवाही रोक्का गरिएको थियो । अनुगमन र घटनाबारे बुझ्नका लागि व्यावसायीका तर्फबाट संघका कार्यसमिति सदस्य प्रितम थापामगरलाई पनि खटाइएको थियो । तर, सम्बन्धित म्यानपवार कम्पनीका सञ्चालकलाई विभागमा पैसा बुझाएमात्र काम सल्टिने बताइएको छ । ‘डिजीलाई साढे तीन लाख बुझाउनुपर्छ, यिनीहरू खानका लागि नै यो कार्यालयमा आएका हुन्’, उनले सम्बन्धित म्यानपावर कम्पनीका सञ्चालकहरूलाई भने,‘मिलाउनका लागि पनि रकम दिनुपर्छ ।’

थापामगरले निरीक्षणमा गएका विभागका निर्देशक उद्धव रिजाललाई पनि २५ हजार दिनुपर्छ भनेको एक प्रत्यक्षदर्शीले बताए । सम्बन्धित म्यानपावरको रोक्का फुकुवा भइसकेको छ । तर, यही बहानामा बिचौलियाले पैसा खान खोजेका हुन् । विभागका महानिर्देशक चापागाईंले आफूले कसैसँग पैसा नमागेको तर विभागका कर्मचारीको नाममा बिचौलियाले पैसा मागेको जानकारीमा आएको बताए । उनले थापामगरलाई विभागमा प्रवेश निषेध नै गराएकोसमेत बताए । ‘मैले कर्मचारीलाई पनि स्पष्ट भनेको छु यस्ता बिचौलिया र भ्रष्टहरूलाई कार्यालय प्रवेशमा रोक लगाउनू’, उनले भने, ‘विभागले मन्त्रालयको निर्देशनअनुसार निर्भीकताका साथ काम गरिरहेको छ ।’

वैदेशिक रोजगार व्यावसायी संघका अध्यक्ष रोहन गुरुङले विभागका कर्मचारी वा अधिकारीका नाममा बिचौलियाको काम गर्दै रकम माग गर्ने कार्यसमिति सदस्यलाई कारबाही गरिने बताए । उनले भने, ‘विभागसँग समन्वय, समस्या पहिचानका आधारमा काम हुन्छ, व्यवसायीको नाम बद्नाम गर्ने, संघको नाम बद्नाम गर्ने जो कोहीलाई कारबाही हुन्छ । छानबिन गरी संघबाट हटाइन सक्नेछ ।’ संघका सदस्य प्रितम सिनामंगलमा रहेको सुन्दर नेपाल ओभरसिज प्रा.लि.का सञ्चालक हुन् ।


Share your thoughts!