अपराधविरुद्ध धैर्य नराख्ने धीरजप्रताप सिंह, जसले कसैको दवाव टेरेनन्

Posted on: September 08, 2018 | views: 2268 दीपक ओली

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख हुन् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धीरज प्रताप सिंह । ‘धीरज प्रताप’ अर्थात् धैर्यका विजेता । कुनै पनि चिजलाई धैर्यका साथ काम गरे सफल हुन्छ भनिन्छ, अपराध बाहेक । त्यसैले धीरजप्रताप अपराधविरुद्ध धैर्य कायम राख्न सक्दैनन् । भन्छन्, ‘हामी समाजको सुरक्षाका लागि प्रहरी सेवामा अनुबन्धित भएको थियौं, प्रहरी करिअरको यो लामो समयमा अपराधविरुद्ध कुनै दबाबको पर्खाई हुनेछैन ।’

अपराधको सम्बन्ध जहिले पनि शक्तिकेन्द्रसँग जोडिएको हुन्छ । अझ यसले राजनीतिक ‘स्पेस’ पायो भने प्रहरीलाई अनुसन्धानमा समस्यामात्र पर्दैन, पीडितले न्याय पनि गुम्नसक्ने ठान्छन्, धीरजप्रताप । 

गुन्डागर्दीलगायतका विभिन्न मुद्दामा मुछिएका काभ्रेली गुन्डा सत्य लामालाई पक्राउ गरी अनुसन्धानको म्याद थप्दै गर्दा राजनीतिक दबाब उनले खेपेका थिए । तर त्यसको वास्ता नगरी अनुसन्धानको दायरालाई बलियो बनाएर अघि बढिरहेका छन् । नेपाल कम्युनिस्ट पार्टीकी सांसद नवीना लामाले म्याद नथप्नका लागि महाशाखामा टेलिफोन गरेकी थिइन् । तर, उनले अपराध कर्मविरुद्ध शक्तिकेन्द्रको सिफारिस र दबाबसँग सम्झौता गरेनन् ।

लामाविरुद्ध गुन्डागर्दीमात्र हैन, अवैध हिसाबले सम्पत्ति थुपारेको अभियोगमा सम्पत्ति शुद्धिकरणको मुद्दा समेत लगाइएको छ । ‘एउटा गुन्डा नाइकेले कसरी सम्पत्ति आर्जन गर्छ ? यो ओपन सेक्रेट नै छ । अनुसन्धान गरी उसैको बयानका आधारमा सम्पत्तिको स्रोतको खोजी हुन्छ’, उनी भन्छन्, ‘उसको गुन्डागर्दीबाट प्रभावित भएका व्यापारी, सर्वसाधारण र आम नागरिकले राहत महशुस गरेको पाटोलाई बिर्सन हुन्न ।’

सत्य लामा अघिल्लो पटक काठमाडौं प्रहरी परिसरले पक्राउ गर्दा लामाको दबाबमा छुटेका थिए । लामा प्रहरी कार्यालयसम्म नै पुगेकी थिइन् । जसको ठूलो आलोचना भएको थियो । यस पटक म्याद नथप्नका लागि प्रहरीलाई दिएको दबाबले काम नगरेपछि उनी काठमाडौं जिल्ला प्रशासन कार्यालयसम्म पुगिन् । तर, प्रशासन कार्यालयले प्रहरीसँग समन्वय गरी लामाको दबाबलाई मानेन । र, ६ दिन म्याद थपी अपराध महाशाखाले अनुसन्धानलाई तीव्रता दिएको छ । 

‘सक्षम प्रहरी र सुरक्षित समाजको योजनामा रहेको प्रहरी नेतृत्वको भावनाको आकारलाई घटाउने होइन, बढाउनका लागि पनि अपराध कर्मसँग निरन्तर जोडिएका व्यक्तिमाथि निगरानी बढाउनु हाम्रो कर्तव्य हो’, धीरजप्रताप थप्छन्, ‘यसको निरन्तरताका लागि हामी कटिवद्ध भएर अघि बढिरहेका हौं ।’

अपराध महाशाखाले गरेका कतिपय काममा आम साधारणले न्यायको आश पनि गरेका छन् । अपराधलाई निर्मूल पारी समाजलाई सुरक्षित भएको महसुस गराउनका लागि पनि प्रहरी सक्रियताका साथ लागिरहेको छ, जसमा अपराध अनुसन्धान महाशाखाको सक्रियता मुख्य पाटो पनि हो । काँडाघारीका बालक निशाख खड्काको अपहरणपछि हत्या गर्ने गोपाल तामाङ र अजय तामाङ पनि महाशाखाको इन्काउन्टरमा मारिएका थिए । बालकको हत्या गरी महाशाखाको टोलीमाथि फायरिङ गर्ने उनीहरूविरुद्ध प्रतिरक्षामा गोली चलाइएको थियो ।

निशान खड्काको हत्या क्रूरताको पनि ठूलो पराकाष्ठा थियो त्यहाँमाथि प्रहरीलाई आक्रमण गरेपछि चुप लागेर बस्ने कुरा हुँदैन थियो । यस्ता अपराधको सोचमा समाजका हरेक कुनामा मान्छे हुन्छन् । तिनका लागि एउटा ठूलो शिक्षा हो ।

‘प्रहरीलाई कतिपय अवस्थामा चुनौती आउँछन् । तर त्यसको परिणामलाई ख्याल नगरी नै अपराधको तीव्रता रोक्नका लागि कुनै न कुनै उपायमा हामी समन्वयकारी भूमिकामा नै अघि बढिरहेका हुन्छौं’, उनी भन्छन्, ‘हाम्रो अभियान भनेकै अपराधको ढ्याङ्ग्रो बजाउने हो ।’

राजनीतिकदेखि पहुँचका आधारमा गुन्डागर्दीले काठमाडौंलगायतलाई जकडेको छ । यो जकडाइबाट फुकाउनका लागि प्रहरीको सक्रियताको विकल्प छैन । यस्ता घटनामा विभिन्न पक्षबाट आफ्ना ‘बिजनेश’ चलाउने काम पनि हुन्छन् । मानवअधिकार, न्यायिक निकाय र अन्तर्राष्ट्रिय शक्ति पनि यसरी सक्रिय हुन्छन् । यी चुनौती समेत पार गर्दै प्रहरी सक्रिय रहँदै आएको छ । 

भनिन्छ, प्रहरीले भिरेको बन्दुक आत्मरक्षाका लागि मात्र होइन, लोक रक्षाका लागि पनि हो । गोलीको हिसाबकिताबको उत्तर दिनुपर्ला तर त्यसमा सन्तुलित समाज र मुस्कानसहित हिँडेका बालबालिकाको अनुहार देखेर त्यस्ता अधिकारी मुस्कुराउँछन् । त्यसमध्ये पर्छन्, एसएसपी धीरजप्रताप । त्यसैले पनि उनलाई ‘प्रतापी’ प्रहरी अधिकारी मानिन्छ ।

Share your thoughts!