निर्मला हत्याकाण्ड : को हुन् ‘हाइ प्रोफाइल’ हत्यारा ?

Posted on: August 26, 2018 | views: 2084 सुशासन संवाददाता

काठमाडौं । २९ दिनसम्म हत्यारा पत्ता नलगाइएको कञ्चनपुरको निर्मला हत्याकाण्डमा ‘भीआईपी हत्यारा’को संलग्नता रहेको आशंका बढेको छ । निर्मला पढ्न गएर बेपत्ता भएको घरमा पहुँचवाला व्यक्तिका आफन्तको कनेक्सन रहेको कारण प्रहरीले अनुसन्धानमा ढिलाइ गरेपछि यस्तो आशंका बढेको हो । 

गत साउन १० गते भीमदत्त नगरपालिका–२ कि निर्मला पन्तको साथीको घरमा पढ्न गएकोबेला बलात्कारपछि हत्या भएको थियो । नेपाल प्रहरीका एसएसपी डिल्लीराज विष्टका छोरा र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिज नियमित आउजाउ गर्ने र घटना भएको दिन पनि आएको भन्दै स्थानीयले ‘भीआईपी हत्यारा’ संलग्न भएको भन्दै आन्दोलन गरेका छन् । 

२४ दिनसम्म हत्यारा पत्ता नलगाएको र निर्मला पढ्न गएको घरका दिदीबहिनीलाई सोधपुछ समेत नगरेको भन्दै स्थानीयले आन्दोलन शुरु गरेका थिए । तर स्थानीयको माग सम्बोधन गरी घटनाको अनुसन्धान अगाडि बढाउनुको साटो आन्दोलन दबाउनका लागि प्रहरीले स्थानीयलाई नै गोली हान्न थालेपछि आशंका बलियो बन्दै गएको छ । स्थानीयको आन्दोलन दबाउन प्रहरीले गोली हानेर बिहीबार ४ जना घाइते बनाएको थियो भने शुक्रबार एक जनाको मृत्यु हुनुका साथै थप ४ जना घाइते भए । 

हत्यारा संरक्षणमा प्रहरी संलग्नता 

गत साउन १० गते साथीकहाँ पढ्न गएकी भीमदत्त बालिका पन्त त्यो दिन घर फर्किनन् । भोलिपल्ट उनको शव बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला प¥यो । निर्मला हराएको थाहा पाउनेबित्तिकै उनकी आमा दुर्गा पन्तले प्रहरीलाई खबर गरिन् । तर २४ सै घण्टा जनताको सुरक्षाका लागि खट्ने जिम्मेबारी पाएको प्रहरी त्यो दिन रात परिसकेकोले भोलि खोजी गर्ने भन्दै आमालाई फिर्ता पठायो । भोलिपल्ट निर्मलाको साइकल भेटिएको खबर आयो । निर्मला जुन घरबाट बेपत्ता भएकी थिइन्, त्यही घरकी यूवती (निर्मलाकी साथी रोशनी बमकी दिदी) बबिता बमले साइकल भेटिए ‘लास पनि त्यही नजीकै छ’ भनेर निर्मला मारिइसकेको कुरा जनाउ दिइन् । निर्मलाको हत्या भएको कुरा परिवार र आफन्तहरुले कल्पना पनि गरेका थिएनन्, बरु बेचबिखनमा परेको हुनसक्ने आशंकामात्र गरेका थिए ।  

‘लास त्यहीँ नजीकै छ’ भनेर किटान गर्ने बमले अघिल्लो दिन छोरी खोज्न पुगेकी निर्मलाकी आमालाई ‘छोरी पोइल गइहोली’ भन्दै थर्काएर पठाएकी थिइन् । त्यसरी एकपछि अर्को निर्मला हत्यासँग आफू जोडिएको संकेत दिइसकेकी बबिता विष्टलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नुको साटो उनलाई जोगाउने षड्यन्त्र मात्र गरिरह्यो । बम दिदीबहिनीको त्यो घरमा एसपी विष्टका छोरा र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजाको नियमित आउजाउ गरीरन्थे । 

लामो समयसम्म हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले २४औँ दिनमा मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई हत्याराको बिल्ला भिराएपछि चित्त नबुझाएका सर्वसाधारणको आन्दोलन र प्रदर्शन जारी छ । 

एसपी विष्टका कारण प्रहरीको बद्नामी

आन्दोलनको क्रममा गोली चलाउनेदेखि कफ्र्यु लगाउनेसम्ममा तत्कालीन एसपी डिल्लीराज विष्ट र डीएसपी ज्ञानबहादुर सेठीको कु–कर्मले प्रहरी संगठनको बद्नामी भएको छ । त्यसैले पीडितलगायत सर्वसाधारण एसपी विष्टसहितको सरुवा माग गरेका थिए । प्रहरी प्रधान कार्यालयले उनीहरूलाई प्रहरी मुख्यालय तानिसकेको छ ।

कञ्चनपुर आन्दोलनलाई चर्काउनका लागि एसपी विष्टको चरित्र र लोभले मद्दत पुगेको बताइन्छ । आन्दोलन चर्किएपछि बालिका पन्तका बलात्कारी र हत्यारा उम्काउनका लागि निर्दोष र करणी गर्नै नसक्ने, नजान्ने निर्धोलाई पक्राउ गरिएको त पीडित परिवारले जनाएको थियो । मृतक पन्तका बाबु यज्ञराज पन्तले त प्रहरीका कारणले नै आफूले न्याय पाउन नसकेको भन्दै उनीहरूलाई तानेर पठाएका नयाँ अधिकारीको अनुसन्धानले चित्त बुझ्ने जनाउ दिइसकेका छन् । 

विष्टको छवि संगठनभित्र र कमान्डभित्र पनि धुमिल रहेको गुनासो आउने गरेको थियो । संगठनमा रहेका महिला प्रहरी कर्मचारीलाई यौनजन्य हिंसाको हिसाबले समेत व्यवहार गर्ने विष्टले बलात्कार जस्तो जघन्य अपराधमा मिलापत्र गराउने र त्यसबापत रकम लिने गरेको पनि सर्वसाधारणले बताउन थालेका छन् । 

त्यसैको विरोध गर्दा जिल्ला प्रहरी कार्यालयको परिसरबाटै जनतामाथि गोली वर्षाउने काम भएको कञ्चनपुरवासीले आरोप नै लगाएका छन् । विष्टको यस्तै हर्कतका कारणले प्रहरी संगठनले बदनामी सहनुपरेको छ । स्थानीय एक युवाले भने, ‘प्रहरीले चासो दिनेभन्दा पनि थर्काउने काम गरेको थियो । थर्काएर जसलाई पायो, त्यसलाई फसाउने षड्यन्त्र नमान्ने भनेपछि गोली चलाउनेसम्मका काम भयो ।’

त्यसो त विष्टले पक्राउ गरिएका निर्धा दिलीपसिंह विष्ट नै दोषी भएको भनी किटानी जाहेरी दिनका लागि मृतक निर्मला पन्तका बाबु यज्ञराजलाई दबाब दिएका थिए । दिलीपविरुद्ध किटानी जाहेरी लिएर खेल खत्तम बनाई आफू चोखिने एसपी विष्टको षड्यन्त्र बुझेपछि यज्ञराजले उक्त विषयमा सहमति जनाएनन् । 

दबाबका लागि विष्टले डीएसपी सेठीलाई परिचालन गरेका थिए । विष्टका हनुमान सेठीले नै दिलीपसिंहलाई दोषी ठहर गर्न यस्ता योजना र पाठ पढाएको बताइन्छ । उता, कञ्चनपुर घटना छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको टोलीले काम थालेको छ । सहसचिव हरिप्रसाद मैनाली नेतृत्वमा प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलगायत ५ सदस्य रहने गरी गठन गरेको छानबिन टोलीले प्रदेश सरकारसँगको समन्वयमा काम थालेको हो । 

टोलीले धनगढी विमानस्थलबाट सोझै प्रदेश नं. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको निवासमा पुगेर घटनाबारे छलफल गरेको थियो । गृह प्रशासनले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, प्रहरी उपरीक्षक विष्ट, प्रहरी नायब उपरीक्षक सेठीलाई तानेर प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, प्रहरी उपरीक्षक कुबेर कडायतलाई पठाएपछि नयाँ टिमले निष्पक्ष छानबिन गर्ने पीडित परिवारको विश्वास छ । 

एसपी निलम्बनमा

सरकारले निर्मला पन्त हत्याकाण्डमा अपराधी जोगाउन भूमिका निर्वाह गरेको आरोप लागेका नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टलाई निलम्बनका लागि प्रक्रिया थाल्न प्रहरी मुख्यालयलाई निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा शनिबार बसेको बैठकले विवादित एसपी विष्टलाई निलम्बन गर्न निर्देशन दिएको हो । गृहले डीएसपी ज्ञानबहादुर सेठी र मुद्दा फाँटका इन्स्पेक्टर एकेन्द्र खड्कालाई हेडक्वार्टर बोलाउनसमेत निर्देशन दिएको छ ।  

गृह मन्त्रालयको निर्देशनबमोजिम एसपी विष्टलाई निलम्बनका लागि तत्काल प्रक्रिया थालिने नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शैलेश थापा क्षत्रीले सुशासनलाई जानकारी दिए । ‘मजकुर गृह मन्त्रालयबाट निर्देशन आएको छ, सोही निर्देशनअनुसार निलम्बनका लागि गृह मन्त्रालयमा सिफारिश गर्छौं,’ उनले भने । 

प्रहरी निरीक्षकदेखि प्रहरी उपरीक्षकसम्म निलम्बनको निर्णय गृह मन्त्रालयले गर्ने कानूनी व्यवस्था छ । कञ्चनपुर घटनामा विष्टको भूमिका शंकास्पद देखिएकाले निलम्बन गरिएको मन्त्रालय स्रोतले जनाएको छ । स्थानीयले १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र त्यसपछि भएको हत्यामा विष्टकै छोराको संलग्नता रहेको आशंका गर्दै कञ्चनपुरमा आन्दोलन चर्काउँदै आएका छन् । आन्दोलन दबाउन गोली चलाएपछि भदौ ७ मा उनीसहित डीएसपी र प्रजिअ समेतलाई गृह मन्त्रालयले कञ्चनपुरको जिम्मेवारीबाट हटाएको थियो ।

शनिबार गृह मन्त्रालयमा भएको बैठकमा मन्त्री रामबहादुर थापा बादलले अनुसन्धान प्रक्रिया पुरा नहुँदासम्म एसपी विष्टलाई निलम्बन गर्न निर्देशन दिएका हुन् ।

सीआईबीका डीएसपीलाई उन्मुक्ति

निर्मला बलात्कार तथा हत्याकाण्डमा अनुसन्धानको नेतृत्व गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को भूमिका समेत शंकास्पद देखिएको छ । बलात्कार र हत्याको अनुसन्धान गर्न कञ्चनपुर पुगेको डीएसपी अंगुर जिसी नेतृत्वको टोलीसमेत विवादमा तानिएको छ । डीएसपी जिसीको कमाण्डमा इन्स्पेक्टर गणेश सापकोटा र सई धर्बिन्द्र राईको टोली अनुसन्धानका लागि कञ्चनपुर पुगेको थियो ।

शुरुवाती चरणमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गरेको अनुसन्धान प्रभावकारी नदेखिएको भन्दै सीआईबीले जिसीको कमाण्डमा विशेष टोली पठाएको थियो । तर उक्त टोलीले कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख डिल्लीराज विष्टकै लाइनमा गएर मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई अभियुक्त भन्दै सार्वजनिक गरेको स्थानीयको आरोप छ । घटना घटेको घरबाटै अनुसन्धान नगरी वास्तविक दोषीलाई उम्काउने षड्यन्त्र गरेको स्थानीयको आरोप छ ।  

अनुसन्धान टोलीको नेतृत्व गरेका डीएसपी जिसी विवादास्पद छविका अधिकृत हुन्, जसलाई शरद गौचन हत्याकाण्डका मुख्य आरोपी गुण्डा नाइके समीरमान सिंह बस्नेतको पक्राउ प्रकरण र मनोज पुन इन्काउण्टर प्रकरणमा शंकास्पद भूमिका खेलेको आरोप लागेको थियो । तत्कालीन प्रहरी नेतृत्वले बस्नेतविरुद्ध कठोर कारबाही गर्न निर्देशन दिँदादिँदै पनि जिसीले मुद्दा फितलो गराउन भूमिका खेलेको प्रहरी संगठनभित्रै आरोप छ । ‘जिसी नेतृत्वको अनुसन्धान टोलीले भारतबाट पक्राउ गरेका बस्नेतलाई चितवनको भरतपुरबाट पक्राउ गरेको त्यसबेला दाबी गरेको थियो । त्यसबेला प्रमाण लुकाएर मुद्दा फितलो बनाउन मोबाइल, ल्यापटप र नगदलगायतका कुनै पनि सामग्री बरामद गरिएन,’ सीआईबी स्रोतले भन्यो, ‘बस्नेतलाई बचाउन सीआईबीको तत्कालीन नेतृत्व नै सक्रियतापूर्वक लागेको बुझिन्थ्यो ।’ 

डीएसपी जिसीले भने एसपी विष्टको छोरासँग जोडेर आरोप लगाउनु गलत भएको बताएका छन् । ‘अहिले एसपी सापको छोरालाई जोडेर लेखेको समाचार भ्रामक हो, घटनामा उनीहरुको संलग्नताको केही संकेत देखिँदैन,’ जिसीले सुशासनसँग भने ‘हामीले त्यस्तो केही संकेत पाएको भए एसपी सापको छोरा होस् वा जो सुकै होस् छाड्ने थिएनौँ ।’ 

उनले अनुसन्धानको शुरुवात अनुमानबाट हुने भएकोले आफूले गरेको अनुसन्धान सत्यको नजिक भएको बताए । ‘सीआईबीले आफ्नो ब्रह्मले देखेको गर्ने हो । अनुसन्धान गर्ने भनेको अनुमान नै हो । कसैले भिडियो खिचेर राख्ने हुँदैन । अनुमान गरेर लिंक स्थापित हुँदै जाने हो । गलत मान्छे यो घटनामा थुनिँदैन,’ उनले भने । 

मृतक पन्तको योनीमा वीर्यको संकेत देखिएकोले त्यसबाट डीएनए टेष्ट गरिने र रिपोर्ट आएपछि अपराधी पत्ता लाग्ने पनि उनले बताए । 

बम दिदीबहिनी पक्राउ 

प्रहरीले घटनाको केन्द्रबिन्दुमा रहेका आरोप लागेका दुई युवतीलाई पक्राउ गरेको छ । मृतक पन्तकी साथी भीमदत्त नगरपालिका–१८ बाट रोशनी र दिदी बबिता बमलाई प्रहरीले पक्राउ गरेको हो । 

साउन १० गते बिहान ११ बजे रोशनीले निर्मलालाई घरमै पुगेर बोलाएर पढ्न भन्दै आफ्नो घरमा ल्याएकी थिइन् । त्यसपछि निर्मला फर्किनन् । बेलुका ६ बजेसम्म पनि निर्मला नफर्किएपछि सोधखोज गर्दा बबिताले यथार्थ जानकारी दिनुको साटो रुखो जवाफ फर्काएकी थिइन् । 

रोशनी र बबिता दिदी बहिनी घरमा उनीहरु बस्दै आएका थिए । उनका बाबुआमा भने पहाडको घर दार्चुलामा बस्दै आएका थिए । घटनामा उनीहरुको शंकास्पद भूमिका देखिएकाले नियन्त्रणमा लिइएको कञ्चनपुर प्रहरीले बताएको छ ।


Share your thoughts!