व्यवसायभित्रका ‘दीपक’

Posted on: August 12, 2018 | views: 430 सुशासन संवाददाता

काठमाडौं, साउन २७ । दीपकको अर्थ हुन्छ– दियो । दियोको कर्म हुन्छ– उज्यालो पार्नु । यस्तै उज्यालो कर्मका एक पात्र हुन् दीपक मल्होत्रा । उनी व्यवसायी हुन् । परिवारका एक्ला चम्किला सदस्य हुन् । बाबु हुन् । श्रीमान् हुन् । मामा हुन् । सम्बन्धका अनेक पाटाहरूसँग जोडिने पात्र हुन् । र, नेपाल चेम्बर्स अफ कमर्सका उपाध्यक्ष ।

व्यवसायका कारण सफलताको बाटोमा हिँडिरहेका यात्री हुन्, उनी । कतै ठेस लाग्थ्यो सम्हालिन्थे, कतै लाग्न खोज्छ सम्हालिएर हिँड्छन् । लागिहाले घाउको उपचार गर्छन्, ढुंगामाथि आवेग र आवेश पोख्दैनन् । उनलाई लाग्छ– ठेस दिनेहरूको रोस समाप्त हुन्छ कर्मको पथ छाड्न हुन्न । ‘म मारवाडी होइन, भारतीय पनि होइन’, उनले भने, ‘पुर्खा पाकिस्तानसँग जोडिएको छ, शताब्दी नेपालमा बित्न लागेको छ । ६ दशकको पेरिफेरिमा त उनकै जन्मले लिइसक्यो ।’ उनको उमेर ५७ वर्ष हो । 

१९४७ पछि काठमाडौंमा उनका बाबुले आमासँग बिहे गरे । उनकी आमासँग । जेठी आमा त पाकिस्तनाको पञ्जावतिर कतै हुन सक्छिन्, उनका सन्तान त्यतै हुन सक्लान् । उनीसँग अनुमान छ, सुनेका कथाका संस्मरण । प्रधानमन्त्री केपी शर्मा ओलीको गत भारत भ्रमणका बेला भ्रमण दल सदस्य पनि थिए । उनलाई यो अवसर व्यवसायमा हासिल गरेको उचाइले नै दिएको थियो । ३९ बर्ष भयो, उनले आफ्नो व्यावसाय थालेको । हङकङदेखि नेपालसम्म सामान आयात गरेर थालेको व्यापारको परिधि निकै विशाल बनाइसकेका छन् । 

आफ्नो सोचको यात्रा थाल्ने क्रममा उनले बाबुले सुरु गरेको होटेलमा मात्रै सीमित रहने ठानेनन् । केही गर्नुपर्छ भन्ने मान्यता राखेका उनी डिसेम्बर १७, १९९७ मा पहिलो पटक हङकङ पुगेका थिए । त्यहाँबाट उनको नजर इलेक्ट्रोनिक्स सामानमा पर्यो । त्यसबेला नेपालमा इलेक्ट्रोनिक्स ब्रान्डको डिमान्ड थियो, घडीको डिमान्ड थियो । समयानुकुलताको व्यापारमा हात हाल्ने होडले उनलाई व्यवसायी बनायो । बैंकक, सिंगापुरबाट मोटर पार्टस्लाई नेपालमा भित्राए ।

२००१ भन्दा अघि विभिन्न मोवाइल ल्याउने गरेका थिए । २००३ देखि सामसुङको ब्रान्डलाई स्थापित गरे । नेपाली बजारमा सामसुङका मोवाइलले अहिले ५० प्रतिशतको बजार ओगटेको उनको विश्लेषण छ । ‘त्यसअर्थमा हामी सफल छौं’, उनले थपे, ‘सामसुङको एक मात्र आधिकारीक बजार प्रबद्र्धनमा नेपालमा हामीलाई सफल बनाउने ग्राहक हुन् ।’

१९७९ देखि आफैं व्यावसाय थालेका उनी अहिलेसम्म व्यावसायीक र व्यक्तिगत गरी कयन देश घुमेका छन् । भारतबाहेकको गणना गर्दा २५ पुग्छ । उनले धेरै प्रकारका व्यावसायमा हात हाले । तर, सफलताको जसचाहिँ ‘घरजग्गा कारोबार र मोबाइल’ले मात्र पाउँछ । ‘अरु कुनैमा सफल हुन सकिनँ, डुबेका मात्र छन्’, उनले सुनाए । 

पछिल्लो समय कृषिमा पनि लगानी गर्ने सोच बनाएका उनी ६० वर्षको उमेरपछि पर्यटन व्यवसायमा सामान्य चासो राख्न चाहन्छन् । रिसोर्ट, होटेलका नयाँ प्रोजेक्टको तयारीमा रहेका दीपकले जोडे, ‘अब पर्यटनको विकास गरेन भने मुलुकमा अरु केही हुनसक्ने देखिँदैन । त्यसैले कृषि र पर्यटनमा विशेष चासो दिन थालेको छु ।’

४ मार्च, २०१५ मा टर्किस विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने क्रममा उनी छोरा डिकेश मल्होत्रासँगै थिए । अचानक विमानले रन वे छाड्यो र उनलाई बाँच्छु भन्ने आश पनि गुम्यो । कहिलेकाहीँ जीवन र परिवारका लागि पनि सोच्नुपर्ने ठानेका उनले त्यसपछि छोरासँग यात्रा गर्न छाडे । ‘एउटै छोरा हो, त्यसैले त्यही दिनदेखि हामीले सँगै नहिँड्ने योजना बनायौं’, उनले भने ।

केही प्रत्युत्पादक व्यापारिक कामदेखि उनी हात झिक्ने तयारीमा छन् । ‘मलाई शत्रु कमाउने, मनमुटाव राख्ने, घुस खुवाउनुपर्ने व्यापारमा लाग्ने मन छैन, लहलहैमा लागेका कारणले कतिपय ठाउँमा चोट पाइएको छ’, उनले भने, ‘तर यो पनि एउटा विशेष शिक्षा नै हो ।’ 


Share your thoughts!