बालुवाटारमा ओली बा, बानेश्वरमा प्रहरी ‘ग्वाँ’

Posted on: August 05, 2018 | views: 423

काठमाडौं । सांसद निरु पालको विषयलाई लिएर बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली आफैं चकित परेका छन् । शान्ति सुरक्षामा प्रभावकारिता कायम राखेको भनेर बारम्बार ठाउँ–ठाउँमा ब्रिफिङ गर्ने प्रधानमन्त्री ओली ‘कथित छोरी’ पालले धम्की पाएको विषयमा यतिसम्म गम्भीर भए कि उनले तुरुन्त प्रहरी अधिकारीलाई त्यसबारे छानबिन गर्न निर्देशन दिए । 

ओलीलाई पालले ‘बुबा’ भन्ने गर्छिन् । पालले मात्र नभएर ओली खेमाका युवा संघका प्रायः सबै युवतीले बुबा र पुरुषले बा भन्ने गरेका छन् । ओलीसँग बाऊछोरीको नाता लगाएरै धम्की दिएको उनले संसद्मा पनि बताएकी थिइन् । त्यतिमात्र होइन, सभामुखसामु सुरक्षाका लागि निवेदन हालेर पिएसओ समेत लिएकी छन् । 

‘प्रधानन्यायाधीश प्रकरणमा सबैभन्दा कठोर देखिएका नेता योगेश भट्टराई हुन्, उनलाई धम्की नआउने तर निरु पालको घाँटीमै पेस्तोल ताकिने कुरा कुनै रचित कथाजस्सो सुनिन्छ’, नेकपाका एक नेताले भने, ‘यो घटनाको सत्यतथ्य छानबिन गर्नका लागि प्रहरी खटाइएको छ तर नतिजा भनेजस्तो आउला भन्ने छैन ।’ पालले ओलीलाई पनि आफूले धम्की पाएको सुनाएकी थिइन् । त्यतिमात्र होइन यो विषयमा कतै कुरा नगर्नु भनी प्रधानमन्त्री स्वयम्लाई पनि भनेको भन्ने अभिव्यक्तिले उनको कुरा पत्याउन कठिन भएको धेरैले बताएका छन् । 

तर प्रतिनिधि सभाको सदस्यले नै आफू असुरक्षित भएको भन्दै प्रधानमन्त्रीलाई सुनाएको र संसदमा निवेदन दिएका कारणले सुरक्षासहित छानबिनका लागि प्रहरी परिचालन गर्न सरकार बाध्य भएको बालुवाटार स्रोतले जनायो । ‘धम्की पाएको कुरा सुन्नासाथ उहाँ (प्रधानमन्त्री)ले सुरक्षा र छानबिनका लागि निर्देशन दिनु भयो तर उहाँ पनि चकित हुनुभयो ।’

युवा संघमा लाग्दा नै ओली खेमामा सक्रिय रहेकी पाल कार्यवाहक अध्यक्ष पनि भइन् । ओली बाकै आशीर्वादमा सांसदसमेत भएकी उनको रचनात्मक कथाले बानेश्वरमा काठमाडौं प्रहरी सूटर खोज्दै ‘ग्वाँ’ भएको छ । शुक्रबारसम्म ७५ जना पक्राउ गरे पनि पेस्तोल भएका कोही पनि फेला परेनन् । त्यसैले प्रहरीले यसलाई ‘फेक कथा’ पनि ठानेको छ । 

त्यतिमात्र होइन पाललाई धम्की दिएको विषयमा छानबिन र अनुसन्धानका लागि एसपी रामदत्त जोशीको नेतृत्व नै खटाइएको छ । उक्त प्रहरी टोलीले पाललाई कस–कसले धम्की दिएको हुनसक्छ भनेर खोजी पनि गरिरहेको छ । तर, यो कथ्यमा सत्यता नरहेको युवा संघका अन्य सदस्यहरू नै बताउँछन् । एक केन्द्रीय सदस्यले भने, ‘प्रधानन्यायाधीश नियुक्तिलाई जसरी पनि प्रभावित बनाउनका लागि रचिएको कथा जस्तो देखिन्छ । यति लामो समयसम्म पनि धम्की नपाएको र प्रधानन्यायाधीश जस्तो विषयमा निर्णायक पनि नभएकी पाललाई किन धम्की आउँछ ?’

त्यसो त जोशीको संरक्षणमा नै युवा संघलगायत तत्कालीन एमालेमा आवद्ध रहेका कयन माफिया रहेका थिए । कतिपयले त जोशीको बेन्चमा नै आफ्ना मुद्दा पुराउनका लागि भन्ने गर्दथे । अन्यको तुलनामा पालले यसरी धम्की पाउने कुरा असम्भव नै रहेको बताइन्छ । 


Share your thoughts!