हृदयको काँधमा रुपन्देहीको सुरक्षा

Posted on: August 03, 2018 | views: 4246 सुशासन संवाददाता

भैरहवा, साउन १८ । प्रहरी मुख्यालयले एसपी हृदय थापालाई रुपन्देही प्रहरी प्रमुखको जिम्मेवारी दिएको छ । प्रहरी मुख्यालयको गत बुधबारको निर्णयले रुपन्देही प्रहरी प्रमुख रहेका एसपी श्यामलाल ज्ञवालीको नवगठित साइबर ब्युरोमा सरुवा भएपछि थापाले रुपन्देही प्रहरीको कमाण्ड सम्हाल्ने अवसर पाएका हुन् । प्रहरी मुख्यालयले गत बुधबार ४८ जना एसपीहरुको सरुवा गरेको थियो । 

नेपाल प्रहरीमा व्यावसायिक अधिकृतको छवि बनाउन सफल थापाको रुपन्देही आगमनसँगै यहाँको पुलिसिङमा व्यापक सुधार हुने अपेक्षा गरिएको छ । उपयुक्त अवसर नपाएर प्रहरी संगठनमा सधैं अन्यायको शिकार हुँदै आएका एसपी थापालाई आईजीपी सर्वेन्द्र खनालले रुपन्देहीजस्तो चुनौतीपूर्ण जिल्लाको जिम्मेवारी दिएर न्याय दिलाएका छन् । डीएसपी भएदेखि नै कमाण्डको अवसर नपाएका थापाको जिल्ला प्रहरी प्रमुखको रुपमा यो नै पहिलो पदस्थापन हो । डीएसपीको रुपमा महानगरीय अपराध महाशाखा र विशेष व्युरोमा लामो समय काम गरेका उनी अपराध अनुसन्धानमा राम्रो दख्खल राख्छन् । 

एसपीको रुपमा केही प्रबन्ध शाखा र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा काम गरेका थापा पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयको इन्टेलिजेन्स शाखाको नेतृत्वमा कार्यरत थिए । थापा नेतृत्वको टोलीले पछिल्लो डेढ वर्षमा दर्जनौं घुस्याहा कर्मचारीहरुलाई रंगेहात पक्राउ गर्न सफल भइसकेको छ ।

अख्तियारमा कार्यरत हुँदा गरेको कामको फेहरिस्त हेर्दा थापाको रुपन्देही आगमनले जिल्लामा हुनेगरेका अवैध धन्दा तथा तस्करीजन्य क्रियाकलापहरु बन्द हुने अपेक्षा गरिएको छ । पछिल्लो वर्ष रुपन्देहीका सीमानाकाबाट भन्सार छली गर्दै तस्करी तथा नदीजन्य वस्तुको तस्करी मौलाउँदै गएको स्थानीयहरु बताउँछन् ।    


Share your thoughts!