कमाण्ड, कण्ट्रोल र अपराध नियन्त्रणमा सफल

Posted on: July 30, 2018 | views: 2056 दीपक ओली

काठमाडौं, साउन १४ । ललितपुर प्रहरीले गत एक वर्षको अवधिसम्म सञ्चालन गरेको गतिविधिले जिल्लामा अपराध नियन्त्रण, शान्तिपूर्ण वातावरण कायम र उत्कृष्ट व्यवस्थापन गर्न सफल भएको छ । आपराधिक गतिविधिको सकेसम्म निराकरण, घटना घटिहाले तुरुन्त प्रहरी परिचालन तथा अपराधमा संलग्न जोकोहीलाई पनि कारबाहीजस्ता कार्यमा गत एक वर्षको अवधिमा ललितपुर प्रहरीले अब्बल नतिजा पाएको छ । महानगरीय प्रहरी परिसर ललितपुरको प्रमुखमा पदबहाल भएसँगै एसएसपी गणेशबहादुर ऐरले सो अवधिमा विभिन्न जटिल परिस्थितिबीच पनि जिल्लामा शान्तिसुरक्षामात्र कायम राखेका छैनन्, प्रहरीको मनोबल बढाउन, जनता र प्रहरीबीच सुमधुर सम्बन्ध कायम राख्न र प्रहरी कार्यालयको व्यवस्थापनमा पनि उदाहरणीय काम गरेका छन् । 

यो क्रममा ललितपुर प्रहरीले जिल्लामा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन र राष्ट्रिय सभा निर्वाचनसमेत शान्तिपूर्ण विवादरहित र भयमुक्त वातावरणमा तीनवटै तहको निर्वाचन सम्पन्न गरेको छ । परिसर प्रमुखको पहलमा परिसर कम्पाण्डभित्र प्रहरी प्रमुखबाट शिलान्यास गरी सहरी विकास कार्यालयको ७० लाखको अनुदानबाट महिला ब्यारेक तथा महिला हिरासत कक्षको २ तले ६ कोठ पक्की भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 




त्यस्तै, परिसरमा पानीको अभावलाई ध्यानमा राखी काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँग समन्वय गरी ७ लाख रुपैयाँको सहयोगमा आकाशबाट परेको पानीलाई फिल्टर प्रविधि जडान गरी पिउन योग्य बनाइएको छ भने कार्यालयको कम्पाउण्डमा आकाशबाट परेको पानीलाई संकलन गरी एक थोपा पनि खेर नजाओस् भनी जमिनभित्र पानी रिचार्ज गर्न ३ वटा इनारसमेत खनिएको छ । उजुरी छानबिन कक्षको निर्माण तथा बाह्य तथा आन्तरिक सुरक्षाका लागि ११ वटा सीसीटिभी जडान पनि गरिएको छ । जिल्लाको संवेदनशील क्षेत्र यूएन पार्कमा प्रहरी बिटको निर्माण, महानगरीय प्रहरी प्रभाग कुपण्डोललाई टहरोबाट हटाई प्रिफर्म पाँच कोठ एक तल्ले भवनमा सार्ने काम भइरहेको पनि ललितपुर प्रहरीले जनाएको छ  ।

गत एक वर्षको अवधिमा ललितपुर प्रहरीले जिल्लामा शान्तिसुरक्षा, अमनचैन कायम गर्न, अपराध न्यूनीकरण गर्न र खबर संकलन गर्न विभिन्न सामाजिक जनचेतनामूलक कामहरु गरेको छ, जसको स्थानीयले नै प्रशंसा गरेका छन् । सातदोबाटोका स्थानीय समाजसेवी कमलकान्त पराजुली भन्छन्, ‘ललितपुर प्रहरीले सामाजिक जनचेतना जगाउन पर्चा, ब्रोसर वितरण गरेको छ भने नागरिक सुनुवाइ जस्ता कामहरु गरेको छ । जसले प्रहरीसँग जनतालाई नजिक गर्ने काम गरेको छ ।’ सो क्रममा ललितपुर प्रहरीले स्थानीयको साथमा ३० ठाउँमा शान्ति सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रम, १५ पटक बागमती सफाइ, १७ पटक लागूऔषधसम्बन्धी सचेतना कार्यक्रम, दैनिक रुपमा प्रहरी टोलटोलमा अभियान सञ्जाल गरेको छ भने ब्लक पोलिसिङ अभियानअन्तर्गत ११ हजार ३ सय ९८ घरधूरीको अभिलेखीकरण गरेको छ । 

यो अवधिमा ललितपुर प्रहरीले विभिन्न अवैध हतियारसहित ५ जना व्यक्तिलाई पक्राउ गर्ने, विभिन्न मुद्दाहरुमा कैद तथा जरिवाना तोकी फरार रहेका ५७ जना प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाउने, जिल्लामा घटित विभिन्न जघन्य र ठूला अपराधहरुको सफल अनुसन्धान गर्न सफल हुनुका साथै गत वैशाखको ९ गते प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको घर कम्पाउण्डमा बम विष्फोट गराउने कार्यमा संलग्न ५ जना व्यक्तिलाई दुई दिनभित्र नियन्त्रणमा लिई कारबाही गर्न सफल भई अदालतसमक्ष पेश गर्ने सफलता हासिल गरेको छ । सो क्रममा लागूऔषध तथा घरेलु मदिरा नियन्त्रण तथा प्रतिबन्धित जडीबुटी यार्सागुम्बा र कस्तुरीको बिनासहित विभिन्न व्यक्तिलाई पक्राउ गरी कारबाही गर्ने काम ललितपुर प्रहरीले गरेको छ । 


महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी ऐर आफूले गृहमन्त्रीको ८२ बुँदे कार्यक्रमअनुसार टोलटोलमा प्रहरी कार्यक्रमअन्तर्गत लागूऔषध नियन्त्रण अभियान, भयमुक्त समाजको निर्माण र जनमैत्री प्रहरी सेवालाई अवलम्बन गरी अभियानको रुपमा सञ्चालन गरेको बताउँछन् । 

ललितपुर प्रहरीले जिल्लामा गुण्डागर्दी एवं अवाञ्छित क्रियाकलाप गर्ने व्यक्तिलाई नियन्त्रणमा लिन योजनाबद्ध ढंगबाट प्रहरी परिचालन गरेको थियो । जसका कारण हाल जिल्लामा गुण्डागर्दी एवं अवाञ्छित क्रियाकलापका घटना नदेखिएको र जिल्लामा शान्ति सुरक्षाको अवस्था रहेको स्थानीय व्यापारीहरु नै बताउँछन् । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी ऐर आफूले गृहमन्त्रीको ८२ बुँदे कार्यक्रमअनुसार टोलटोलमा प्रहरी कार्यक्रमअन्तर्गत लागूऔषध नियन्त्रण अभियान, भयमुक्त समाजको निर्माण र जनमैत्री प्रहरी सेवालाई अवलम्बन गरी अभियानको रुपमा सञ्चालन गरेको बताउँछन् । त्यस्तै, प्रहरी संगठन प्रमुखबाट जारी भएको १० बुँदे प्राथमिकतालाई अक्षरशः पालना गरी निर्देशनाअनुसार कार्य सम्पादन गरिरहेको पनि उनले जानकारी दिए । 




सो अवधिमा परिसरमा दर्ता भएका ९ सय ४५ वटा मुद्दाको अनुसन्धानमा आवश्यक निर्देशन प्रदान गरेको र दर्ता भएका मुद्दाहरुमा ११६५ जना प्रतिवादीलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको ललितपुर प्रहरीले जानकारी दिएको छ । आव २०७३/७४ मा रहेको कुल बेरुजु रकम ५ लाख ७९ हजार ५ सय ७७ आव २०७४/७५ मा फछ्र्योट गरेको पनि परिसरले बताएको छ । 

एसएसपी ऐर आफू मातहतका सम्पूर्ण प्रहरी अधिकारीको सहयोगले नै जिल्लामा शान्तिसुरक्षा कायम राख्न सफल  भएको बताउँछन् । उनी भन्छन्, ‘प्रहरीको कर्तव्य नै जनताको शान्तिसुरक्षामा ध्यान दिनु हो । त्यसका लागि यहाँ सरुवा हुनेबित्तिकै सबै प्रहरीको साथ लिएर अहोरात्र खटियौं । यहाँका आम जनता, व्यवसायी, विद्यार्थी, पेशाकर्मीले शान्तिसुरक्षाको महसूस गर्नु नै हाम्रो लागि ठूलो कुरा हो । यहाँका स्थानीयको शन्तिसुरक्षाको प्रत्याभूतिका लागि निरन्तर लागिरहनेछौं ।’


Share your thoughts!