ओली रणनीति : कांग्रेसलाई थाङ्नामा सुताउने, भित्रभित्रै वामदेवलाई उठाउने

Posted on: July 29, 2018 | views: 731 सुशासन संवाददाता

काठमाडौं । न्याय नपाए गोरखा जानू उखान बिर्सिने हो भने ‘राजनीति नजाने ओलीसँग सिक्नू’ भन्ने उखान चल्न सक्छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीलाई थाङ्नामा सुताउँदै सरकार र पार्टीमा फरक तरङ्ग ल्याउने तयारी गरेका छन् । 

कांग्रेसले आन्दोलनको मुख्य एजेन्डा बनाइएका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीलाई अनशनको २७औं दिनमा केदारभक्त माथेमा र सुवास नेम्वाङबाट जुस पिलाउन सफल भएका ओलीले कांग्रेसको राजनीतिक मुद्दा नै समाप्त पारेको ‘ब्रिफिङ’ आफ्ना सांसदलाई गरेका थिए । 

ओलीले कांग्रेसका गगनकुमार थापा र विवेकशीलका केही ‘ठेट्ना’ नेता मिलेर वार्ता भाँड्न खोजेपछि पहल लिनुपरेको भन्दै सांसदलाई कन्भिन्स गरेका थिए । उनले सांसदलाई कन्भिन्समात्र गरेनन् कांग्रेसका लागि सदन अवरोध गर्ने मूल मुद्दा नै टुंगो लगाइदिए । ‘हामीलाई सुताउन खोजेका थिए, थाङ्नामा सुतेर त्यहीँ केजाती गरी त्यसैको न्यानोमा कांग्रेस रमाउने वातावरण प्रधानमन्त्रीले बनाइदिनु भयो’, नेकपाका एक नेताले भने, ‘कांग्रेस सभापति शेरबहादुर देउवाले पनि निहुँ खोजेका थिए, उनको भनाइअनुसार केसी सहमत भएपछि उनको पनि हल्ला सकिएको छ ।’

केसी चिकित्सा शिक्षा सुधारका निम्ति सरकारले तयार पारेको प्रतिस्थापित विधेयकको विरोधमा सत्याग्रह आन्दोलनमा थिए । सो क्रममा सरकारविरुद्ध ठूलो षड्यन्त्र हुन लागेको देखेपछि ओलीले केसीलाई बचाउनका लागि ९ वटा बुँदामा २२ वटा संशोधनमा सहमति जनाएका थिए । सरकारले वार्ता टोली गठन गरे पनि ओलीको प्रत्यक्ष उपस्थितिमा नै संशोधन तयार पारिएको थियो । जसमा शिक्षामन्त्री, स्वास्थ्यमन्त्री र वार्ता समितिको नै औचित्यलाई समाप्त पार्दै अनौपचारिक हिसाबमा सुवास नेम्वाङलाई ओलीले अगाडि सारेका थिए । 

केसी प्रकरणमा मात्र होइन आन्तरिक राजनीतिमा पनि नेम्वाङलाई ओलीले अगाडि बढाउने तयारी गरेका छन् । नेकपा नेता वामदेव गौतमसँग नेम्वाङलाई ओलीले दशैंपछि सरकारमा ल्याउन खोजेका हुन् । नेकपामा नेम्वाङको भूमिका कमजोर भएको ठानेपछि वामदेवलाई उपप्रधानसहित गृह मन्त्रालय र नेम्वाङलाई कानुनमन्त्री बनाएर अघि बढाउने ओलीको योजना छ । यसमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि सहमति भइसकेको स्रोतले जनाएको छ । 

पछिल्लो समय गृहमन्त्री रामबहादुर थापा बादलसँग प्रचण्डको सम्बन्ध चिसिएपछि वामदेवलाई उपनिर्वाचनमार्फत प्रतिनिधि सभा हुँदै सरकारमा महत्वपूर्ण जिम्मेवारी दिने तयारी भएको हो । यसो गर्दा सरकारमा दोस्रो वरियतामा रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई पनि तह लगाउने ओलीको भित्री चाहना पूरा हुनेछ । पोखरेलले अर्थ मन्त्रालयमा युवराज खतिवडालाई ल्याएको भन्दै ओलीको तीव्र आलोचनामात्र गरेका छैनन्, पार्टीमा आफूलाई होच्याइएको भनी असन्तुष्टि पनि पोखेका छन् । 

त्यसो त पोखरेललाई पार्टीमा महासचिवबाट हटाएर विष्णु पौडेललाई अगाडि बढाएका ओलीले सरकारमा पनि उनलाई तह लगाउने रणनीति अपनाएको बताइन्छ । यसका लागि वामदेव गोटी प्रभावकारी हुनेमा ओली–प्रचण्ड सहमत छन् । बामदेव नेकपाको समृद्धिको खाका तयार पार्ने विशेष समितिका संयोजक थिए । पार्टी एकीकरणपछि उक्त समिति निष्क्रिय छ । 

वामदेवले चुनाव जितेरै आउने इच्छा देखाएपछि ओली–प्रचण्ड नेकपाको एकल बहुमत रहेको ठाउँ र क्षेत्रबाट उनलाई ल्याउने तयारीमा लागेका हुन् । त्यसका लागि डोल्पाका सांसद धनबहादुर बुढालाई सहिद बनाउने तयारी भएको छ । सांसद बुढालाई राजीनामा गराएर डोल्पामा उपनिर्वाचन गराएर गौतमलाई निर्वाचित गराउने तयारी भएको छ । गौतमले पनि अध्यक्षद्वयले यस्तो आश्वासन दिएको बताइसकेका छन् । 

गएको निर्वाचनमा गौतम बर्दियामा पराजित भएका थिए । बर्दिया १ बाट उम्मेदवार बनेका उनी कांग्रेसका सञ्जय गौतमसँग सात सय ५३ मतले पराजित भएका थिए । कांग्रेसका गौतमले ४४ हजार ८२९ मत ल्याउँदा वामदेवको पक्षमा ४४ हजार ७६ मत खसेको थियो । ०७४ को निर्वाचनमा बुढा ११ हजार ७६१ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका अंगदकुमार बुढाले ३ हजार १६७ मत पाएका थिए । प्रतिनिधिसभातर्फ डोल्पामा १५ हजार ८१२ मत खसेको थियो ।

पार्टीभित्र यति तयारी गरिसकेका ओलीले बालुवाटारमा शुक्रबार आफ्ना निकटवर्ती राखेर कांग्रेसलाई कसैगरी सदनमा र सडकमा आउन नदिने बताएका थिए । उनले सोही क्रममा ‘पार्टीमा पनि धेरै परिवर्तन हुन्छ, सरकारमा पनि परिवर्तन हुन्छ’ भनेको एक नेताले बताए । ‘५ बर्षको सुरुआती इनिङमा नै मन्त्रीहरू धेरै जान्ने भएको र प्रधानमन्त्रीको निर्देशन भन्दा मनखुसी गर्न लागेका कारणले उहाँले एक्सन लिन खोज्नु भएको हो । पार्टीमा पनि त्यो एक्शन हन्छ’, उच्च स्रोतले भन्यो,‘एक हिसाबले समाजवादको यात्रा तय गर्दा आफ्नालाई पनि कारबाही गर्नुपर्छ भन्ने मान्यता उहाँको हो ।’

Share your thoughts!