ललितपुरमा सफल भए एसएसपी ऐर

Posted on: July 02, 2018 | views: 5091 सुशासन संवाददाता

ललितपुर, असार १८ । प्रहरीको प्रमुख कर्तव्य हो, जनताको शान्ति सुरक्षा । तर, मुलुकको माहोल कुनै बेला यस्तो भइदिन्छ कि अपराध, तस्करी, असुरक्षा बढ्न थाल्छ । त्यतिबेला नै प्रहरीको वास्तविक भूमिका पनि देखिन्छ । करिब १ वर्षअघि भदौमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गणेशबहादुर ऐरले महानगरीय प्रहरी परिसर ललितपुरको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दा पनि मुलुक राजनीतिक संक्रमणकालमा गुज्रिरहेको थियो । 

यद्यपि, प्रहरी भने आफ्नो प्रमुख कर्तव्य निर्वाह गर्न नै अग्रसर थियो । तर, पनि नजिकिँदो चुनाव, संक्रमणकालीन अवस्था, मुलुकको राजधानीसँग जोडिएको जिल्ला भएकाले ललितपुरको शान्तिसुरक्षाको बारेमा सबैको चिन्ता थियो, प्रहरीका लागि चुनौती पनि । तर, त्यसपश्चात्को करिब १ वर्षको अवधिलाई हेर्ने हो भने ललितपुर प्रहरी जिल्लामा शान्तिसुरक्षा कायम राख्न र जनताको जिउधनको संरक्षण गर्न सफल भएको छ र त्यसको कमाण्डर रहेका ललितपुरका प्रहरी प्रमुख एसएसपी ऐर पनि आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सफल भएका छन् । 

 निर्वाचनदेखि वर्तमान सरकार नबन्दासम्म यसबीचमा मुलुकका अन्य स्थानमा विभिन्न घटनाहरु भए पनि ललितपुरमा भने प्रहरीको निरन्तरको परिश्रम, अनुसन्धान, कारबाही र सतर्कताका कारण त्यस्तो अप्रिय घटना कुनै भएन । ललितपुरको प्रमुख हुनेबित्तिकै उनले आपराधिक गतिविधि गर्नेहरुलाई पक्राउ, गलत काम हुने स्थानहरुमा छापा र अपराधमा संलग्न जोकोहीलाई पनि कुनै प्रभाव तथा दबाबमा नपरी कारबाही गरेकाले पनि जिल्लामा शान्तिसुरक्षा कायम राख्न मद्दत पुग्यो । ललितपुरका स्थानीयले पनि प्रहरीको निरन्तरको सक्रियताले नै शान्तिसुरक्षामा महसूस गर्न पाएको बताएका छन् । ललितपुर बागडोलका व्यवसायी सन्देश श्रेष्ठ भन्छन्, ‘पछिल्लो १ वर्षयता ललितपुर प्रहरीको सक्रियता सकारात्मक र प्रभावकारी देखिएको छ । निर्वाचन शान्तिपूर्ण हुनुमा प्रहरीको ठूलो भूमिका देखिएको छ । प्रहरीकै सक्रियताका कारण गुण्डागर्दीमा कमी आएको छ । जसले हामीजस्ता व्यापारी र व्यवसायीलाई पनि आफ्नो काम ढुक्कले गर्न पाएका छौं ।’




हाल महानगरीय प्रहरी परिसर ललितपुर कार्यालयले शान्तिसुरक्षाका लागि घरदैलो कार्यक्रम आयोजना गरिरहेको छ । यस कार्यक्रममार्फत स्थानीयलाई व्यक्तिगत सुरक्षाबारे जानकराी, दुव्र्यसन मुक्त समाजको लागि सचेतना, चोरीलगायतका आपराधिक गतिविधिबाट सतर्कता र यदि त्यस्ता घटना भइहालेमा प्रहरीलाई सम्पर्क गर्ने माध्यमका बारेमा यो अभियान थालिएको एसएसपी ऐरले जानकारी दिए । परिसरले सडक दुर्घटना न्यूनीकरणका लागि चालको दायित्वबारे सचेतना फैलाउने, लेन अनुशासनबारे जानकारी दिने काम गर्दै आएको पनि उनले बताए । त्यतिमात्र नभएर अपहरणकारीबाट जोगिनका लागि पनि प्रहरीले जिल्लावासीलाई सचेतना कार्यक्रम गर्दै आएको छ । 

एसएसपी ऐरको कार्यकालमा हालसम्म गरिएको मुख्य कामहरुमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । त्यस्तै, राष्ट्रिय सभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्नुका साथै गृहमन्त्रीज्को गृह प्रशासन सुधार मार्ग चित्र कार्यान्वयन पनि हुँदै आएको छ । 

एसएसपी ऐर आफू मातहतका सम्पूर्ण प्रहरी अधिकारीको सहयोगले नै जिल्लामा शान्तिसुरक्षा कायम राख्न सफल  भएको बताउँछन् । उनी भन्छन्, ‘प्रहरीको कर्तव्य नै जनताको शान्तिसुरक्षामा ध्यान दिनु हो । त्यसका लागि यहाँ सरुवा हुनेबित्तिकै सबै प्रहरीको साथ लिएर अहोरात्र खटियौं । यहाँका आम जनता, व्यवसायी, विद्यार्थी, पेशाकर्मीले शान्तिसुरक्षाको महसूस गर्नु नै हाम्रो लागि ठूलो कुरा हो । यहाँका स्थानीयको शन्तिसुरक्षाको प्रत्याभूतिका लागि निरन्तर लागिरहनेछौं ।’ 


Share your thoughts!