२०१७ : बालबालिकाको लागि भयावह वर्ष

Posted on: January 02, 2018 | views: 400 सुशासन डेस्क

बालबालिकाहरुलाई भगवान् को प्रतीकको रुपमा मान्नुपर्छ भनिन्छ । जे भनिन्छ, त्यसैअनुसारको व्यवहार भने सबै ठाउँमा हुँदैन । भनाइमा एउटा र गराइमा अर्को व्यवहार हुने गरेको कारण अहिले बालबालिकाहरुको अवस्था भयावह देखिएको छ । 

बालबालिकाको अवस्था सन् २०१७ को समग्र अवधिमा निकै भयावह देखिएको छ । एक त आफैं पनि सहयोग आवश्यक पर्ने यो उमेरमा आफ्नो ज्यान नै बचाउन धौ धौ हुने अवस्थामा बाँचेका बालिकालिकाहरुको कस्तो भविष्य कल्पना गर्न सकिन्छ । वर्तमान राम्रो भएको खण्डमा मात्र भविष्यको चिन्ता गर्न सकिन्छ । मानिसको वर्तमान नै भयावह अवस्थामा छ भने उनीहरुको भविष्यको विषयमा के आशा गर्न सकिन्छ र ? अघिल्लो वर्ष बालबालिकाको क्षेत्र वास्तवमा नै खराब रहन पुग्यो । 

संयुक्त राष्ट्रसंघको बालबालिका हेर्ने निकाय यूनिसेफको विवरणअनुसार सन् २०१७ मा विश्वका बालबालिकाहरुको अवस्था निकै दयनीय अवस्थामा देखिन्छ । युनिसेफको विवरणमा यो वर्ष युद्धग्रस्त क्षेत्रहरुका बालबालिकाहरु धेरै प्रभावित भएको देखिएको छ । साथै बालबालिकालाई थप सुरक्षित बनाउनको लागी अघि बढिरहेका संस्थाहरुको प्रयास बेकार देखिएको छ । 

नाइजेरियाको इस्लामिक आतंकवादी संगठन बोको हरामले पछिल्लो वर्ष एक सय ३५ बालबालिकाहरुलाई आत्मघाती आक्रमणको लागि बाध्य पारेको छ । यो विवरण अघिल्लो वर्षको तुलनामा पाँच गुणाले बढी हो । यतिमात्र होइन, युद्धग्रस्त रहेको यो क्षेत्रमा बालिबालिहरुमा रोगको प्रकोप पनि अत्यधिक रहेको देखिएको छ । साथै बालबालिकाहरुलाई पर्याप्त मात्रामा खाना, खानेपानी र स्वास्थ्य सेवा उपलब्ध हुन सकेको छैन । पछिल्लो वर्ष आतंकवादी गतिविधिकहरु केही कमजोर भएको मानिएको छ । यो हिसाबमा आतंकवादको प्रभाव सबै क्षेत्रमा कम हुँदै जानुपर्ने हो तर आतंकवादको प्रभाव मुलुकको लागि केही कमजोर भए पनि निर्दोष बालिबालिकाहरुलाई भने भारी बन्दै गएको देखिन्छ । 

अघिल्लो वर्ष युद्धको हिसाबमा सबैभन्दा बढी चिन्ता गरिएको क्षेत्र यमन हो । यो क्षेत्रको विषयमा संयुक्त राष्ट्रसंघले पनि कतिपटक चेतावनी दिइसकेको छ भने सहयोगको लागि आह्वान पनि गर्दै आएको छ । यस्तो अवस्थामा यमनमा पनि बालबालिकाहरुको अवस्था राम्रो हुन नसक्नु कुनै नौलो कुरा भने होइन । अहिले युनिसेफले सार्वजनिक गरेको विवरणमा यमनमा युद्धको कारण कम्तीमा पाँच हजार बालबालिकाहरुको ज्यान गएको देखिएको छ । यो नतिजा यमनको लागि पछिल्लो तीन वर्षयताकै सबैभन्दा धेरै बालबालिकाहरुको ज्यान गएको विवरण हो । यहाँ अहिले एक करोड १० बालबालिकाहरुलाई मानवीय सहायताको आवश्यकता रहेको विवरणले देखाएको छ । 

यमनको भयावह अवस्था यतिकैमा सकिँदैन । यो क्षेत्रमा १८ लाखभन्दा बढी बालकालिकाहरु कुपोषणको शिकार भएको देखिएको छ । जसमध्ये पनि तीन लाख ८५ हजार बालबालिकाहरु तत्कालै कुनै ठुलो सहयोग नभएको अवस्थामा मृत्युको मुखमा पुग्ने खतरामा रहेका छन् । यस किसिमको विवरणको कारण राष्ट्रसंघमा पनि यस विषयमा कुरा उठ्ने गरेका छ तर पर्याप्त काम भने हुन सकेको छैन । जसको कारण अवस्था थप भयावह बन्न पुगेको हो । 

२०१७को समग्र वर्षभरनै युद्ध क्षेत्रमा रहेको बालबालिकाहरुमाथिको आक्रमण जारी रह्यो । युद्धग्रस्त क्षेत्रमा रहेका बालबालिकाहरु बचाउनका लागी राष्ट्रसंघले युद्धरत पक्षहरुसँग आग्रह पनि गरेको थियो तर उसको यो आग्रह कुनै अर्थ रहेन थप धेरै बालबालिकाहरु यसको शिकार बन्न पुगे । यो वर्षमा बालबालिकाहरु धेरै सुरक्षित रहने अनुमान गरिएको स्थानहरुलाई लक्षित गरी आक्रमण भएको कारण बालबालिकामाथिको खतरा बढेको हो । विशेषगरी यस वर्ष स्कुल, खेलमैदान र घरैघर भएका सहरमा भएको आक्रमणको कारण यस किसिमको नतिजा देखिएको हो । 

अहिले देखिएको अवस्था निकै बर्बरतापूर्ण रहेको स्वयं अधिकारीहरु बताउँछन् । उनीहरुले अहिलेको अवस्थालाई सही स्थानमा ल्याउन निकै कठिन रहेको बताएका छन् । बालबालिकाहरुको अवस्था भयावह रहेको अर्को क्षेत्र कंगो हो । यो क्षेत्रमा आठ लाख ५० हजार बालिबालिकाहरुले आफ्नो घरबाट विस्थापित हुनप¥यो । चार सयभन्दा बढी विद्यालयमा आक्रमण भए भने तीन लाख ५० हजारभन्दा बढी बालबालिकाहरु कुपोषणको शिकार बन्न पुगेको विवरणले देखाएको छ । 

युद्धको कुरा गर्दा यस वर्ष इरान र सिरियाको युद्धले पनि भयावह रुप लिए । पछिल्लो समय इराकले आतंकवाद सकिएको घोषणा गरेको छ भने सिरिया पनि आतंकवाद हटाउने अभियानमा केही सफल देखिएको छ । यद्यपि यो क्षेत्रमा वर्षको अधिकांश समय विभिन्न किसिमका आक्रमणहरु भए । विभिन्न विद्रोहीहरु रहेको सिरियामा उनीहरुको आक्रमणको मारमा भने बालबालिकाहरु पर्ने गरेका छन् । 

वर्षको अर्को बर्बरतापूर्ण घटना म्यानमारको घटना हो । रोहिंगामाथि भएको हिंसाको क्रममा धेरै रोहिंगा बालबालिकाहरु प्रभावित बन्न पुगेको विवरणमा देखिएको छ । यद्यपि अहिलेसम्म यस विषयमा आधिकारिक विवरण युनिसेफले सार्वजनिक गरेको छैन तर यो हिंसामा पनि उल्लेख्य बालबालिकाहरुको ज्यान गएको थियो । केही समयअघि एक संस्थाले सार्वजनिक गरेको विवरणमा समग्रमा यो हिंसामा करिब सात हजार रोहिंगाहरु मारिएको देखाएको थियो । साथै करिब सात लाख रोहिंगाहरु विस्थापित भएका थिए । 

युद्धको कुरा गर्दा नछुट्ने नाम हो – अफगानिस्तान । यस वर्ष पनि अफगानिस्तानमा अत्यधिक आक्रमणहरु भए । जसमा सात सय निर्दोष बालबालिकाहरुले ज्यान गुमाए । यो विवरण सुरुवाती नौ महिनाको विवरण हो । अर्को युद्धग्रस्त क्षेत्र सोमालियामा पनि १७४० बालबालिकाहरु युद्धको कारण प्रभावित भएको विवरण सार्वजनिक भएको छ । 

केही समयअघि मात्रै सार्वजनिक भएको एक विवरणले पूर्वी युक्रेनमा दुई लाख २० हजार बालबालिकाहरु खानी तथा अन्य विष्फोट हुनसक्ने क्षेत्रहरुको कारण जोखिममा रहेका छन् । युद्धको क्रममा राखिएका विष्फोट हुनसक्ने हतियारहरुको कारण पनि यो क्षेत्र जोखिमयुक्त देखिएको हो । अर्को संकटग्रस्त क्षेत्रमा दक्षिण सुडान पनि रहेको छ । यो क्षेत्रमा हजारौं बालबालिकाहरु विभिन्न संगठनहरुको कब्जामा रहेका छन् । जसको कारण पनि युद्धको क्रममा पनि धेरै बालबालिकाहरु मारिएका छन् । 

दक्षिणी सुडानमा विद्रोहीहरुले बालबालिकाहरुलाई अपहरण गर्ने पनि जारी रहेको कारण आगामी वर्षमा पनि यो क्षेत्रको समस्या गर्न भने निकै कठिन रहने देखिन्छ । यस वर्ष बालबालिकाको लागि भयावह रहेको क्षेत्रको रुपमा अफ्रिकी गणतन्त्र रहेको रहेको छ । यो क्षेत्रमा पछिल्लो समय हिंसा बढ्दै गएको छ भने बालिबालिकाहरुको हत्या, बलात्कार, दुव्र्यसनीलगायतका घटनाहरु बढ्दै गएका छन् । 

अहिले सार्वजनिक भएको विवरणलाई हेर्ने हो भने समग्रमा वर्षभर ५८३५ बालिकाहरुको ज्यान गएको देखिन्छ तर यो विवरण अपुरो विवरण हो । यो विवरणमा रोहिंगाका बालबालिकाहरुको विवरण जोड्न बाँकी छ भने केही महिनाअघिका विवरणहरु मात्र समावेश गरिएको कारण यो संख्या अझै बढ्नसक्ने देखिन्छ । त्यसमाथि युद्धको कारण घाइते भएका, कुपोषणको शिकार भएका वा अन्य कुनै समस्यामा परेका बालबालिकाको संख्या त कति हो कति । यसरी हेर्दा उनीहरुको भविष्य कस्तो बन्ला भनेर पनि सोच्न नसकिने अवस्था छ । 

बाल्यकाल भनेको आफ्नो जीवनको लागि आधार तय गर्ने स्थान हो । त्यसैले मानिसहरु बाल्यकालमा नयाँ सोचको विस्तार गर्नका लागि आफ्ना बच्चाहरुलाई प्रेरित गर्छन् तर जसको बाल्यकाल नै भयावह अवस्थामा छ । उनीहरुको भविष्य कस्तो बन्ला ? अनि उनीहरुले आउँदा दिनमा आफ्नो मुलुकलाई के योगदान देलान् ? भाग्यमा विश्वास गर्न खोजिएको हैन तर सत्य के हो भने मार्क जुकरवर्ग अमेरिकामा जन्मिएको कारण नै फेसबुक खोल्ने सोचाइ उनीमा आएको हो । सिरियामा जन्मिएका भए अहिले कि त जोखिमपूर्ण बाटो हुँदै युरोपमा शरणार्थीको जीवन बिताउँदै हुन्थे कि कुनै जेलमा चरम यातनाको सामना गरिरहेका हुनसक्थे । 

Share your thoughts!