२०१७ का महत्वपूर्ण वैज्ञानिक उपलब्धिहरु

Posted on: December 27, 2017 | views: 521 बीबीसी

सन् २०१७ मा विज्ञानको क्षेत्रमा केही महत्वपूर्ण उपलब्धिहरु हासिल भएका छन् । जसमध्ये यो अवधिमा हासिल भएका प्रमुख आठ घटनाहरु यसप्रकार छन् - 

१.  ताराहरुको विष्फोट


सन् २०१७ मा वैज्ञानिकहरुले आइस्टाइनले प्रतिपादन गरेको गुरुत्वाकर्षण तरङ्ग पत्ता लगाएका छन् । उनीहरुले दुई मृत तारा वा न्युट्रोन ताराहरु ठोक्किँदा उत्पन्न भएको तरङ्ग पत्ता लगाएका हुन् । यस किसिमका तरङ्गहरु सन् २०१६ मा पनि पत्ता लागेको थियो । यद्यपि उक्त तरङ्ग भने दुई कालो क्षिद्र जोडिँदा पाइएको तरङ्ग रहेको बताइएको थियो । 

यससँगै खगोलशास्त्रको नयाँ अध्यायको सुरुवात भएको बताइएको छ । यो अवधारणाको सहयोगमा आगामी दिनमा गुरुत्वाकर्षण तरङ्गको विषयमा थप ज्ञान हासिल गर्न सकिने बताइएको छ । विश्वको सबै भागबाट नछेकिएका न्युट्रोन ताराहरुको हेर्न सकिन्छ । उत्तर ताराहरु करिब १० खर्ब किलोमिटर टाढा रहेको आकाशगंगामा ठोक्किएको बताइएको छ । अझैसम्म पनि उक्त विष्फोटको विषयमा केही आशंकाहरु भने कायमै रहेका छन् । यस विषयमा अनुसन्धान गरिरहेको टोलीले उक्त विष्फोटबाट सुन र प्लाटेनियमजस्ता धातुहरु निस्किएको दाबी गरेको छ । 

२.  क्यासिनीको अन्तिम खोज 


सन् २००४ मा क्यासिनी (अन्तरिक्ष विमान) शनि ग्रहमा पुगेको थियो । पछिल्लो १३ वर्षको अवधिमा यसबाट धेरै जानकारीहरु हासिल भएको थियो । शनि ग्रहमा यो विमान रहेको कारण वैज्ञानिकहरुले यो ग्रहको बाहिर रहेको चक्काको विषयमा जानकारी हासिल गरेका थिए भने यसका उपग्रहहरुको विषयमा पनि केही विवरण हासिल गरेका थिए । यसले टाइटन, इन्क्लिउड्सजस्ता उपग्रहरुको विषयमा विवरण संकलनको काम गरेको थियो । 

अहिले भने यो विमानको इन्धन सकिने अवस्थामा पुगेको छ । नासाले जीवनको सम्भाव्यताको विषयमा थप अध्ययन गर्ने भन्दा पनि यसलाई नष्ट गर्ने निर्णय ग¥यो । सेप्टेम्बर १५ मा क्यासिनी शनि ग्रहको आकाशमा नष्ट गरिएको थियो तर यसले अहिले पनि त्यहाँबाट विवरणहरु संकलन गरेर पृथ्वीमा पठाउन सक्छ । 

३. पेरिस सम्झौतामा देखिएको उतारचढाव 


सन् २०१५ मा फ्रान्सको राजधानी सहर पेरिसमा जलवायु परिवर्तनको रोक्नका लागि विश्वका सबै मुलुकहरुको बीचमा एक महत्वपूर्ण सम्झौता भएको थियो । सुरुवातमा यो मुद्दामा अमेरिकाले पनि सहयोग गरेको भए पनि सन् २०१६ को राष्ट्रपति निर्वाचनको प्रचारको क्रममा डोनाल्ड ट्रम्पले दिएका अभिव्यक्तिको कारण यो विषय अन्योलमा देखिएको थियो । 

अमेरिकामा नयाँ राष्ट्रपति आएसँगै सन् २०१५ मा भएको पेरिस सम्झौता रद्द हुने खतरा रहेको अनुमान गरिएको अवस्थामा पनि यो सम्झौतामा विश्वका धेरै मुलुकहरुले ऐक्यबद्धता जनाएका छन् । यो सम्झौतामा हस्ताक्षर नगर्ने मुलुकमा अहिले अमेरिका एक्लो मुलुक रहेको छ । अमेरिकाले यसअघि बाराक ओबामाको कार्यकालमा यो सम्झौतामा समर्थन जनाएको भए पनि ट्रम्पको यस किसिमको व्यवहारले भने अमेरिका आफ्नो भविष्यलाई नै अस्वीकार गर्दै अघि बढिरहेको प्रतिक्रिया विश्लेषकहरुले दिएका छन् । 

४. पृथ्वीजस्ता ग्रहहरुको खोजी 


यस वर्ष वैज्ञानिकहरुले पृथ्वीजस्ता धेरै ग्रहहरुको खोजी गरेका छन् । अहिलेसम्म वैज्ञानिकहरुले सौर्य मण्डलमा मात्र ३५ सय ग्रहहरु पत्ता लगाइसकेका छन् । यस वर्ष खगोलविद्हरुले पृथ्वीको जस्तो आकार रहेका सात ग्रहहरु पत्ता लगाएका छन् । उक्त ग्रहहरुमा जीवन पनि हुनसक्ने विषयमा अहिले अध्ययन भइरहेको छ । जसमध्ये तीन ग्रहमा जीवनको सम्भावना अत्यधिक रहेको विवरणले देखाएको छ, जहाँ पानी भेटिएको छ । पानी भएको स्थानमा जीवनको सम्भावना अलिक बढी हुन्छ । 

५. पुरानो अवशेष


गएको जुलाई महिनामा शोधकर्ताहरुले उत्तर अफ्रिकामा पाँच सुरुवाती मानिसहरुको अवशेष फेला पारेका थिए । उक्त अवशेषहरु यसअघिको सबैभन्दा पुरानो मानिएको भन्दा कम्तीमा एक लाख वष पहिलेको रहेको अनुमान गरिएको छ । अहिले पाइएको यो विवरणले मानव जातिको उत्पत्ति पूर्वी अफ्रिकाबाट मात्र नभई समग्र महादेशबाट भएको हुनसक्ने देखिएको छ । मानव उत्पत्तिको विषयमा अहिले पाइएको विवरण निकै महत्वपूर्ण रहेको देखिएको छ । सन् २०१५ मा पाइएको १५ आंशिक अस्थिपञ्जरलाई अहिलेसम्मकै सबैभन्दा पुरानो अस्थिपञ्जरको रुपमा लिइँदै आएको थियो ।

६. दुर्लभ ग्रहण


अगष्ट २१ मा चन्द्रमाको छायाँ पृथ्वीको केही भागमा देखिएको थियो । विशेषगरी अमेरिकामा यस किसिमको आंशिक ग्रहण देखिएको थियो । अन्य ग्रहणभन्दा भिन्न रहेको यो ग्रहण सन् १७७६ यता पहिलोपटक देखिएको हो । यो ग्रहण हेर्न लाखौंको संख्यामा मानिसहरु भेला भएका थिए । यो ग्रहण हेर्न पुगेका मानिसहरुले निकै रमाइलो भएको प्रतिक्रिया दिएका थिए । 

७. पृथ्वी घुम्न आएको पाहुना 


वैज्ञानिकहरुले लामो समयदेखि हामीहरुलाई पनि कसैले खोज्दै आएको हुनसक्ने विषयमा विभिन्न अनुसन्धानहरु गरिरहेको अवस्थामा यस वर्ष भने यो संयोग जुरेको छ । गएको अक्टोबर महिनामा अमेरिकाका हवाईको टेलिस्कोपबाट पृथ्वी घुम्न आएको यान देखिएको थियो । यसको प्रकृतिको हिसाबमा यो यान सौर्य मण्डलभन्दा बाहिरबाट आएको हुनसक्ने देखिएको हो । यो यानको विषयमा अहिले पनि विभिन्न किसिमको अनुसन्धान जारी रहेको छ । 

८. अन्टार्टिकाको बरफमा देखिएको चिरा 


गएको जुलाई महिनामा अन्टार्टिकाको बरफको ठूलो भागमा चिरा देखिएको थियो । यो चिरा पछिल्लो एक दशकयताकै सबैभन्दा ठूलो रहेको बताइएको छ । यो बरफको हिस्साले करिब छ हजार वर्गकिलोमिटरको हिस्सा ओगट्ने अनुमान गरिएको छ र यो क्षेत्रफल वेल्सको कूल भूभागको एक चौथाइबराबरको नतिजा हो । पछिल्लो समय विश्वको तापक्रम बढिरहेको कारण  यस किसिमको जलवायुमा परिवर्तनहरु देखिएको हो । यस विषयमा विज्ञहरुले चेतावनी पनि दिँदै आएका छन् । 

Share your thoughts!